सूचनाको शक्ति - The Power Of Information

        

गोरेको पक्राउसँगै थप प्रहरी र व्यापारी छानबिनमा तानिँदै


काठमाडौं । सुन तस्करी प्रकरणका बहुचर्चित पात्र चूडामणी उप्रेती ‘गोरे’को पक्राउसँगै अनुसन्धानले नयाँ मोड लिएको छ । यसले आफूहरुको अनुसन्धानलाई थप बलियो बनाएको र थप रहस्यहरु खुल्ने छानबिन समितिका अधिकारीहरुले बताएका छन् ।
छानबिन समितिसँगको बयानमा गोरेले आफूले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको स्वीकारेका हुन् । तर, आफू मुख्य तस्कर नभई मुख्य व्यवस्थापक भएको बताएका छन् । स्रोतका अनुसार गोरेले लगानी गर्ने व्यापारीहरु तथा सहयोग गर्ने प्रहरीहरुको पनि नाम लिएका छन् ।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका सहसचिव ईश्वरराज पौडेलले गोरे पक्राउ परेपछि थप तथ्यहरु खुलेको र त्यससँगै अनुसन्धानले थप गति लिने बताए । गोरेले प्रहरी र विमानस्थलका कर्मचारीलाई पैसा दिएको स्वीकारेका छन् । उनले आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाएको स्रोत बताउँछ ।
यसअघि डायरीमा लेखेर पैसा बाँडिएका प्रहरीलाई मात्र छानबिन समितिले डाकेर बयान लिएको थियो । उनीसँग धेरै प्रहरी अधिकारीहरुको फोन सम्पर्क देखिएकाले अब उनीहरुतर्फ पनि अनुसन्धान अघि बढ्ने स्रोत बताउँछ । त्यस्तै, तस्करीमा लगानी गर्ने र संरक्षण गर्ने समूहमाथि पनि छानबिन समितिले अनुसन्धान अघि बढाउने भएको छ । जसमा केही नेताहरुसमेत तानिन सक्ने समितिका एक अधिकारी बताउँछन् ।
छानबिन समितिसँग गोरेले सेटिङ मिलाएरै आफूले सुन तस्करी गरेको स्वीकार गरे पनि अदालतमा उनले के बयान दिनेछन्, त्यसले महत्व राख्नेछ । प्रहरी अधिकारीहरुलाई आफूले पैसा दिएको बयान दिएमा पक्राउ परेका प्रहरी अधिकारीहरु समेत जेल जाने सम्भावना छ । शनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके मानिएका गोरेलाई आज प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको थियो । गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइएको छ । गोरेलाई आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको छानबिन समितिका पौडेललेले जानकारी दिए । यसअघि प्रहरी स्रोतले गोरेलाई भारतबाट पक्राउ गरेर ल्याइएको जनाएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १०:१३