सूचनाको शक्ति - The Power Of Information

        

डडेल्धुरामा २० वर्ष पुरानो फोहर बल्ल उठाइयो

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको २० वर्ष पुरानो फोहर सोमबार सफा गरिएको छ । बीसवर्ष पहिले नाली निर्माण भएपछि थुप्रिएको सदरमुकामको फोहर सोमबार अमरगढी नगरपालिकाको पहलमा सरसफाइ गरिएको हो ।
डडेल्धुराको अमरगढी नगरपालिकाले बजार व्यवस्थापन तथा सरसरफाइको अभियानलाई तीव्रता दिएसँगै बसपार्कको नालीमा रहेको पुरानो फोहरलाई सफा गरिएको अमरगढी नगरपालिकाले जनाएको छ । वर्षौंअघि अमरगढी नगरपालिकामा निर्माण भएको बसपार्कको नाली फोहर हुँदा यात्रु तथा चालकले सास्ती खेप्दै आइरहेका थिए ।
नालीमाथि राखिएको स्ल्याब जीर्ण बनी सवारीसाधन निकाल्न अप्ठ्यारो भइरहेको थियो । अहिले अमरगढी नगरपालिकाले जीर्ण भएका स्ल्याब हटाएर फोहर सफा गरेको हो । फोहरका कारण बसपार्कमा यात्रुलाई एकछिन उभिन पनि असजिलो हुने गर्दथ्यो ।
लामो समयदेखि नालीमा रहेको फोहर नउठ्दा तथा स्ल्याब जीर्ण भएपछि नगरपालिकाले अहिले अभियाननै चलाएर समस्या समाधान गरेको हो । उक्त अभियान सञ्चालन भएपछि यात्रु तथा सवारी चालकलाई सहज हुने नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।
अब केही समयमै जिल्ला सदरमुकाममा रहेको अव्यवस्थित बजार तथा फोहरको समस्या समाधान हुने नगरप्रमुख ओझाले जनाए । त्यस्तै, नगरपालिकाले विगत लामो समयदेखि डडेल्धुरामा रहेको साँघुरो सडकको समस्या सुल्झाउने योजना बनाएकोे जनाएको छ ।
अव्यवस्थित बजार तथा सडकका कारण हैरानी खेपिरहेका व्यापारी, यात्रु तथा सवारी चालकलाई अबको केही समयमा सहज हुने नगरपालिकाले जनाएको छ । स्थानीय तह आइसकेपश्चात् विभिन्न चुनावका कारण कार्य सम्पादन गर्न कठिनाइ भएको थियो ।
अबको एक डेढ वर्षभित्रै बजारको सडक १५ मिटर चौडा बनाउने योजना बनेको वडा नं ५ का अध्यक्ष खेमराज पाठकले बताए । अहिले तत्काल व्यापारीलाई अनुरोध गरेर सडकको दुवैतर्फ दुई मिटर बाटो खुलाइने उनले बताए ।
वर्षौंअघि निर्माण भएको भीमदत्त राजमार्ग जिल्ला सदरमुकामको बागबजार भएर गएको छ । सदरमुकाममा अहिले अव्यवस्थित बजारीकरणका कारण सडक साँघुरो भई सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ । दैनिक यातायातका साधन तथा पैदलयात्रुलाई बजारको सडक भएर जान सकश हुने गरेको बागबजारका व्यापारीको भनाइ छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०४:५७