काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५/०७६ समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने बताएकी छन् । नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धिसहितको सन्तुलित विकास गरिने उनले बताइन् ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सबैका लागि समृद्धि सरकारको नीति हुने बताएकी हुन् । आगामी आर्थिक वर्षमा दोहोरो अंकनजिकको र ५ बर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिने उनले बताइन् ।
‘समृद्धि नेपालका लागि अब मृगतृष्णा हुन सक्दैन, विकास बाहेक समृद्धिको अर्को बाटो हुँदैन,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘सरकार लोकप्रियताका लागि काम गर्दैन, जनताको हितमा काम गरेर लोकप्रियता हासिल गर्नेछ ।’ नेपाली बीचको आय असामनता कम गर्दै लैजाने सरको नीति हुने र ५ बर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दोब्बर गराइने उनले बताइन् ।
।