सूचनाको शक्ति - The Power Of Information

        

जनार्दन र शक्तिको अगाडि तत्कालिन एमाले पंक्ति रक्षात्मक !


सुर्खेत । विहीबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी इतिहासकै शक्तिशाली पार्टी बनेको छ । पार्टी एकतापछि शक्तिशाली बनेको नेकपाका नेताहरुबीच विभिन्न खाले चर्चा परिचर्चा कर्णाली प्रदेशमा शुरु भएको छ ।
कर्णाली प्रदेशबाट तत्कालिन नेकपा एमालेका कोही पनि स्थायी समितिमा पर्न सकेनन् । जसका कारण राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ । यसअघि माधव नेपाल पक्षधर प्रकाश ज्वाला र केपी ओली पक्षधर यामलाल कंडेलले कर्णाली प्रदेशमा एमालेभित्रको गुट चलाउँदै आइरहेका थिए । तर अब भने त्यसरी गुट चलाउने अवस्था रहेन ।
नेकपाको स्थायी समितिमा साविकको माओवादी केन्द्रका नेता जनार्दन शर्मा र शक्ति बस्नेत पर्ने निश्चित प्रायः छ । अब तत्कालिन एमालेका कर्णाली प्रदेशका नेताहरु शर्मा र बस्नेत पछि हुनेछन् वा उनीहरुको गुटमा रहनुपर्ने चर्चा शुरु भएको छ । साविकको माओवादी केन्द्रमा शर्मा र बस्नेतले पनि गुट चलाइरहेका थिए । अब उक्त गुटको समिकरण फेरिने देखिएको छ ।
एमालेका एक नेताले आफू निकटका कार्यकर्ताको गुनासो सम्वोधन गर्न पनि यी दुई मध्ये एक नेताको पछि लाग्नुपर्ने बाध्यता ज्वाला र कंडेललाई आइलागेको बताए । यी दुबै नेताहरुले एक जनाले बस्नेत र अर्कोले शर्मालाई समात्ने उनको अनुमान छ । कर्णालीमा साविकको माओवादी केन्द्रमा सबैभन्दा बलिया शक्ति बस्नेत थिए ।

जे होस्, पार्टी एकताले साविकको एमाले पंक्तिलाई रक्षात्मक अवस्थामा पुर्याएको प्रष्ट देखिन्छ ।

उसो त जनार्दन पनि कम त होइनन्, तर पनि प्रदेश सभामा जनार्दन पक्षधर सांसदहरुको संख्या अलि कम छ । उता साविक एमाले तर्फका २० सांसदमध्ये यामलालतर्फ १० जना छन् भने ९ जना ज्वाला पक्षधर सांसद रहेका छन् । एकजना भने आफू कुनै गुटमा नरहेको दावी गर्छन् । माओवादीका १३ जना सांसदमध्ये शक्तिका पक्षमा ८ रहेका छन् भने जनार्दनका पक्षमा ५ रहेका छन् ।
यसरी हेर्दा कर्णालीको सरकारमा पनि प्रभाव पर्ने सम्भावना देखिएको माओवादी केन्द्रका एक नेताले नाम नबताउने शर्तमा लोकान्तरलाई बताए । उनका अनुसार अब नयाँ टिम बन्नेछ भने को कता लाग्ने भन्ने केही दिनमै थाहा हुनेछ । जे होस्, पार्टी एकताले साविकको एमाले पंक्तिलाई रक्षात्मक अवस्थामा पुर्याएको प्रष्ट देखिन्छ । जनार्दन शर्मा केपी ओली निकटका रहेको चर्चा चल्न शुरु भएको छ जसका कारण यामलाल जनार्दन तिर निकट हुने र ज्वाला बस्नेततिर निकट हुने सम्भावना रहेको विश्लेषण शुरु भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार ०४:२२