सूचनाको शक्ति - The Power Of Information

        

विद्यालयमा भर्ना हुनबाट किन छुटे ६१ प्रतिशत विद्यार्थी ?


काठमाडौं । सरकारले संचालन गरेको भर्ना अभियानमा विद्यालय जानबाट अझै पनि ६१ प्रतिशत बालबालिका बञ्चित देखिएका छ । यसवर्ष विद्यालय बाहिर रहेकामध्ये केबल ३९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा भर्ना गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
वैशाख महिनाभरी सञ्चालित विद्यार्थी भर्ना अभियानमा ८८ हजार ८८७ विद्यार्थीमध्ये ३४ हजार ३४४ जना मात्र भर्ना गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए । उनका अनुसार भर्ना गरिएका विद्यार्थी प्राथमिक तहका हुन् । सरकारले विद्यालय जाने उमेर समूहका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको थियो ।
उनले अभियानमा कक्षा १ देखि दशसम्म करीब सात लाख २४ हजार विद्यार्थी भर्ना गरिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक विद्यार्थी भर्ना गरी अभियानको शुरुआत गरेका थिए । प्रवक्ता अर्यालले बाँकी भर्ना हुन नसकेका विद्यार्थीलाई शैक्षिकसत्रभरी भर्ना गर्न पहल गरिने बताए । अभियानमा यसवर्ष ७७७ विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ ।
ती विद्यर्थीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, नगरप्रमुख तथा उपप्रमुख, चलचित्र नायक आदिले विद्यालयमा भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् । यसवर्ष गरीब, अपाङ्गता भएका र पिछडिएका क्षेत्रका विद्यालय उमेर जाने विद्यार्थीलाई पाठ्यपुस्तकसहित विद्यालय भर्ना गरिएको थियो । सरकारले वर्षेनी भर्ना अभियान सञ्चालन गरे पनि तोके अनुसारको विद्यार्थी भर्ना गराउन सकेको छैन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आइतवार ०८:४५