सूचनाको शक्ति - The Power Of Information

        

वडा कार्यालय स्वास्थ्य चौकी इन्चार्ज र सहायकको भरमा

रुकुम । पुथा उत्तरगंगा गाउँपालिकाका १४ वडा सचिवविहीन छ । साविकका ६ वटा गाविस मिलेर बनेको यस गाउँपालिकामा एउटा वडामा पनि सचिव छैनन् । साविकको हुकाम, रन्मामैकोट, तकसेरा, कोल, रांशि र जाङ गाविसमा रहेका सचिव सरुवा मिलाएर गएपछि गाउँपालिका लामो समयदेखि सचिवविहीन भएको हो ।
साविकका ६ गाविस मध्ये रन्मामैकोट गाविसका सचिव तिलक रावत मात्र यसै गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । अरु सचिव भने गाउँपालिका बन्ने वित्तिकै सरुवा मिलाएर अन्यत्रै गएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताए । वडा सचिव नहुँदा कार्यालयको काम स्वास्थ्य चौकी इन्चार्ज र वडा सहायकबाट चलाइएको छ ।
भौगोलिक रुपमा विकट र अन्य सुविधाबाट बञ्चित, त्यसमा पनि वडा सचिव नहुँदा यस गाउँपालिकाका बासिन्दा मर्कामा परेका छन् । गाउँपालिका अध्यक्ष घर्तीका अनुसार, वडा बाट हुने पञ्जिकरणको काम सम्बन्धित वडाका स्वास्थ्य चौकी इन्चार्जहरुले गर्ने गरेका छन् भने अन्य काम वडा सहायकहरुले गरिरहेका छन् ।
सचिवको अभावमा सचिवको काम अन्यले गर्दा कागजात तथा व्यहोरा नमिल्ने भएकाले सेवाग्राहीले समस्या भोग्नु परेको छ । टाढा टाढाबाट दैनिक लामो दूरी पैदलहिँडेर वडा कार्यालयमा पुगे पनि सचिव नहुँदा सेवा पाउन गाह्रो भएको पुथा उत्तरगंगा गाउँपालिका ५ का हिमाल बुढाले बताए ।

वडामा आउँनै मान्दैनन् सचिव
भौगोलिक रुपले विकट, सञ्चार सुविधाविहीन, यातायातको अभावलगायतका कारणले कर्मचारीहरु वडामा बस्न नमानेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । उनले आफू निर्वाचित भएदेखि नै वडा सचिव ल्याउन पहल गरे पनि सफल नभएको जानकारी दिए ।
‘सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भनिएको छ, स्थानीयतहलाई अधिकार सम्पन्न स्थानीय तह भनिएको छ र त्यही अनुसार अधिकार पनि दिइएको छ,’ अध्यक्ष घर्ती भन्छन्, ‘तर हामीलाई आवश्यक कर्मचारीको व्यवस्था नै छैन भने यस्तो अवस्थामा नागरिकलाई कसरी सेवा दिने ?’

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आइतवार ०७:०८