सूचनाको शक्ति - The Power Of Information

        

११५३ स्थानमा प्रहरी भवनविहीन, पूर्वाधार बनाउन २५ अर्ब लाग्ने अनुमान


काठमाडौं । देशका १ हजार १५३ स्थानमा प्रहरी कार्यालय भवन छैन । प्रहरीको कार्यालय भवन नभएका कारण प्रहरीले अन्यत्रै बसेर काम गर्नुपरेको छ । देशभर दुई हजार पाँच सय सातवटा प्रहरी इकाई छन् । देशभर जीर्ण भएका, भवनै नभएका र जग्गा खरिद गरेर नयाँ भवन तथा ब्यारेक निर्माण गर्नुपर्ने देखिएको छ ।
प्रहरीको यी पूर्वाधार तयार पार्न २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर, सरकारले भवन निर्माणको लागि वार्षिक ३८ करोडमात्र खर्च गर्दै आएको छ । यही गतिमा प्रहरीको भवन निर्माण गर्ने हो भने वर्षौसम्म भवन निर्माण गर्न लाग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसवर्ष भने प्रहरीले भवन निर्माण गर्नका लागि ६० करोड रुपैयाँ छुट्याएको छ ।
प्रदेश नम्बर १ मा २३९ स्थानमा प्रहरी कार्यालय छैन भने ५८ स्थानमा प्रहरी कार्यालय स्थापना गर्नका लागि जग्गा नै नभएको प्रहरी मुख्यालयले जानकारी दिएको छ । प्रदेश नम्बर २ मा १२२ स्थानमा प्रहरी कार्यालय भवन छैन । सो स्थानमा ७९ स्थानमा प्रहरी कार्यालय तथा ब्यारेकजस्ता पूर्वाधार तयार गर्न जग्गा नै नभएको बताइएको छ ।
प्रदेश नम्बर ३ र ४ मा १३३/१३३ स्थानमा कार्यालय भवन छैन भने प्रदेश नम्बर ५ मा १५६ स्थानमा प्रहरी कार्यालय भवन नभएको जानकारी दिइएको छ । यसैगरी प्रदेश नम्बर ६ को १३० र प्रदेश नम्बर ७ को ९६ स्थानमा प्रहरी कार्यालय भवन नभएको बताइएको छ । प्रदेश नम्बर ३ मा ८२, प्रदेश नम्बर ४ मा ७१, प्रदेश नम्बर ५ मा ९२, प्रदेश नम्बर ६ मा ६५ स्थानमा र प्रदेश ७ मा ३६ स्थानमा कार्यालय भवन बनाउने जग्गासमेत नभएको मुख्यालयले बताएको छ ।
महानगरीय प्रहरीको १२९ स्थानमा जग्गा छैन भने एक सय स्थानमा कार्यालय भवन अझै बन्न सकेको छैन । प्रदेश १ को २३४ स्थानमा ब्यारेक छैन भने प्रदेश २ मा १३५, प्रदेश ३ को १०४, प्रदेश ४ मा १३७, प्रदेश ५ मा १६७, प्रदेश ६ मा १३३ र प्रदेश ७ को १०१ स्थानमा प्रहरीको ब्यारेक नभएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीको भवन तथा व्यारेक नहुँदा ड्युटीबाट आएका प्रहरीले आरामसमेत गर्न नपाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका लागि पूर्वाधार तयार पार्न आवश्यक ठाने पनि स्रोत अभावका कारण पूर्वाधार तयार पार्न नसकिएको गृह मन्त्रालयले जानकारी दिएको छ । सशस्त्र द्वन्द्वका बेला क्षतिग्रस्त भएका ७३८ भवनमध्ये अझै ४०१ भवन बन्न बाँकी छन् । भूकम्पले १९६ भवन क्षति भए पनि हालसम्मा जम्मा १०३ वटा भवनमात्रै निर्माण भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आइतवार ०६:१५