कालिका खड्का/नारायण अधिकारी । काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच औपचारिक रुपमा पार्टी एकताको घोषणा भएपछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक्लो ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भएबाट विभिन्न क्षेत्रमा विद्वान्ले मुलुकमा राजनीति स्थायित्व हुने संज्ञा दिएका छन् । उस्ताउस्तै विचार राख्ने दुई ठूला पार्टी एक्लाएक्लै हिँड्नुभन्दा एउटै पार्टी हुँदा मुलुकमा राजनीतिक स्थायित्व भई मुलुकमा विकासको ढोका खुल्ने विद्वानको धारणा छ ।
राजनीतिक विश्लेषक सोमत घिमिरेले वामपन्थी पार्टीहरु एक हुनुलाई सकरात्मक रुपमा लिएका छन् । ‘दुवै पार्टीको विचारमा खास फरक छैन, पृष्ठभूमिलाई हेर्दा एउटा चलनचल्ती अनुसार आएको र अर्को जनयुद्धबाट आएको भन्ने मात्र हो, दुई पार्टी एकता हुनु सकारात्मक कुरा हो,’ उनले भने । घिमिरेका अनुसार दुई ठूला पार्टी छुट्टाछुट्टै हुँदा जनताको मत कम्युनिष्टलाई नै बाँडिएको थियो । एकता भएपछि एक ढिक्का भयो जुन राम्रो कुरा हो ।
ठूला पार्टी एक हुँदा मुलुकमा राजनीतिक स्थायित्व हुनाका साथै स्वास्थ्य र शिक्षा नीति तथा समग्र मुलुकको विकासमा मद्दत पुग्छ । ‘दुई कम्युनिष्ट पार्टी एकता हुँदा दुई वामपन्थी ठूला दलले जनताको मत माग्ने प्रतिष्पर्धाको अन्त्य भएको छ तर ठूला दुई पार्टीभित्र संगठनात्मक व्यवस्थापनमा निकै चुनौती छ, किनभने दुवै पार्टीमा धेरै नेता छन्,’ राजनीतिक विश्लेषक घिमिरेले थपे । अर्का राजनीतिक विश्लेषक उद्धव प्याकुरेलका अनुसार मतदाता दुई पार्टी एकता हुन लागेकामा धेरै खुशी मानिरहेका छन् तर पार्टीका नेताबीचमा व्यक्तिगत चरित्रका कारण व्यवस्थापनमा निकै कठिनाइ हुनेछ ।
‘उस्तै विचारधाराको पार्टी हो, एकता हुनु सकारात्मक कुरा हो तर राजनीतिक व्यक्तिवादी चरित्र, धेरै नेतृत्व गर्न सक्ने नेताहरु पदमिलानमा निकै कठिनाइ हुन सक्छ,’ प्याकुरेलले जोडे । एमाले र माओवादी दुई पार्टीबीचको एकतालाई वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले पनि सकारात्मक रुपमा लिई मुलुकमा स्थायित्व मिल्ने आशा गरे । ‘नेपालका ठूला दुई वामपन्थी मिल्नु ऐतिहासिक कुरा हो, वामपन्थी एक र प्रजातान्त्रिक एक भए मुलुकको विकासमा पनि सहज हुन्छ, पार्टी एकता हुनु निकै राम्रो हो,’ मैनालीले थपे ।
सानो मुलुकका धेरै राजनीतिक पार्टी हुँदा जुन रुपमा विकास हुनुपर्ने हो त्यसअनुरुप हुन सकेको नसकेको उनको बुझाइ छ । वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले पनि सिद्धान्त र वैचारिक दृष्टिकोणले उस्तै पार्टी भएको हुँदा एकता हुनुलाई सकारात्मक रुपमा हेरेकी छन् । ‘एकता आफैँमा राम्रो कुरा हो, नेपालमा दुई–तीन पार्टीभन्दा बढी जरुरी छैन, पार्टीका खिंचातानीका कारण विकासमा अवरोध पुगेको छ, अरु पार्टीहरुबीच पनि विस्तारै एकता भए राम्रो हुन्थ्यो,’ उनले जोडिन् । नेपाली वामपन्थी राजनीतिको इतिहासमा ठूला दुई पार्टी एकीकरण भएको आज ऐतिहासिक दिन हो । यसअघि नेपाली राजनीतिक इतिहासमा यति ठूला राजनीति दलबीच एकता भएको इतिहास छैन ।
गत असोज १७ गते एमाले र माओवादी निर्वाचनमा तालमेल गरेर पछि पार्टी एकता गर्ने घोषणा गरेर अगाडि बढेका थिए । तीनै तहको निर्वाचन सम्पन्न भइसक्दा पनि दुई राजनीतिक दलबीच पार्टी एकता नहुँदा दुवै पार्टीका नेता तथा कार्यकर्तामा एक प्रकारको नैराश्य देखिन थालेको थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने र समय आएपछि घोषणा गर्ने बताउँदै आएका थिए ।
दुई अध्यक्षको भनाइ सही सावित भएको छ । बुधबार दुई अध्यक्ष बसेर पार्टी एकीकरण आज हुने सहमति गरेका थिए । दुई पार्टीबीचको गठबन्धन स्थायित्व र विकासका लागि भनेर घोषणा गरिएको थियो । त्यही नारालाई ध्यानमा राखेर निर्वाचनमा मतदाताले दुई पार्टीलाई झण्डै दुई तिहाइ बहुमत दिए जुन मत पार्टी एकता तथा मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि थियो । मतदाताले दुई पार्टी एक भएको हेर्न चाहेका थिए । दुई पार्टीले आज त्यही जनमतको कदर गरेका छन् । रासस
।