रेनुका गिरी । बुटवल । राष्ट्रिय भू–उपयोग आयोजनाले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई भू–उपयोग नक्सा हस्तान्तरण गरेको छ । आयोजनाले नगरको भू–उपयोग नक्सा तथा विवरणसहितको प्रतिवेदन बिहीबार हस्तान्तरण गरेको हो ।
मुलुकमैं पहिलो पटक तिलोत्तमा नगरपालिकालाई भू–उपयोग नक्सा हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ । यो कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतको आयोजना हो । तराईका २० जिल्लाको नक्सा तयार पारिसकेको आयोजनाले विस्तारै पहाडी र हिमाली जिल्लाहरुको समेत नक्सा तयार पार्ने क्रममा रहेको छ ।
प्रतिवेदन हस्तान्तरण गर्दै आयोजनाका सर्वे अधिकृत ईञ्जिनियर सुमिर कोइरालाले नगरपालिकाले दिएको चासोका कारण मुलुकमैं पहिलो पटक तिलोत्तमालाई भू–उपयोग नक्सा हस्तान्तरण गरिएको जानकारी दिए । नगरपालिकाले स्थानीय स्तरमा भू–उपयोग योजना बनाउन थालिएको जानकारी गराउँदै आयोजनालाई नक्सा उपलब्ध गराउन गत चैत्रमा आग्रह गरेको थियो ।
आयोजनाले तराईका अधिकांश जिल्लाहरुको भू–उपयोग नक्सा तयार पारिसकेको र अन्य स्थानीय तहलाई क्रमशः नक्सा हस्तान्तरण गरिने आयोजनाले जनाएको छ । नक्सा ग्रहण गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले भूमिको उपयोग, नियमन र व्यवस्थापनमा आयोजनाले उपलब्ध गराएको नक्सालाई प्रयोग गरिने बताए ।
‘नक्साका आधारमा कुन–कुन क्षेत्रको जग्गालाई कुन रुपमा प्रयोग गर्न सकिन्छ भन्ने विषय प्रष्ट हुनेछ ।’ नगर प्रमुख घिमिरले भने, ‘यसले कृषि क्षेत्रको संरक्षण, योजनाबद्ध र व्यवस्थित आवासीय, व्यवसायिक, औद्योगिक क्षेत्रको निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
नक्साका आधारमा भूमिस्रोतको अधिकतम उपयोगका लागि वर्गीकरण र यसरी गरिएको वर्गीकरणका आधारमा भूमिको संरक्षण, व्यवस्थापन र उपयोग गर्न सहयोग मिल्ने नगरपालिकाले जनाएको छ । नक्साका आधारमा कृषि, आवासीय, व्यवसायिक, औद्योगिक लगायतका क्षेत्र निर्धारण गर्न सहज हुनुका साथै योजनाबद्ध सहरीकरण, कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने, उपयोगमा नरहेको भूमिको समुचित प्रयोगको व्यवस्थापनमा टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।
।