सूचनाको शक्ति - The Power Of Information

        

डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

रामचन्द्र न्यौपाने । डोल्पा । जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका छन् । संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउँगाउँमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका हुन् ।
गृह मन्त्रालयको लागूऔषध अपराध विशेष मदिरा नियन्त्रण र नियमन विशेष अभियान अन्तर्गत देशभरका ७७ वटै जिल्लामा कार्यान्वयन गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेका छन् । डोल्पामा धामी र लामाले सहजैरुपमा मदिरा नियन्त्रण गरेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए ।
उनले भने, ‘सरसफाइ, जातीय छुवाछूत तथा विभेद र मदिरा नियन्त्रणमा लामा र धामीले जनस्तरमा निकै प्रभावकारी काम गरेका छन्, धामी र लामाको कुरा सहजै स्वीकार गर्छन् नागरिकले ।’ हिन्दू धर्मकाले धामी र बौद्ध धर्मकाले लामालाई विश्वास गर्ने भएकाले धामी र लामाले भनेका सबै कुरा मान्ने गरेको धामी हरिबहादुर शाहीले जानकारी दिए ।
उनले भने, ‘मदिरामात्रै होइन गलत काम गर्नेलाई सजग गराउन धर्मले काम गरेको छ, किनकी धामी र लामाका कुरा कसैले काट्न सक्दैन ।’ डोल्पा जिल्लामा लागूऔषधका घटना शून्य रहेको तर मदिरा भने रोजीरोटी र संस्कारका रुपमा फस्टाउँदो अवस्थामा रहेको महिला सशक्तीकरण डोल्पाकी अगुवा उर्मिला विकले दाबी गरिन् ।
उनले भने, ‘मदिराकै कारण डोल्पामा महिला हिंसा बढिराखेकाले सुरक्षा तथा नियमनमा विशेष ध्यान पुग्नुुपर्छ ।’ डोल्पा जिल्लामा धर्म, संस्कार र रोजीरोटीका रुपमा मदिरा बिक्री वितरण हुने गरेको पाइएको छ । सबै क्षेत्रमा जोडेर घरेलु मदिराको उत्पादन र बिक्री वितरण हुने गरेको प्रहरीले दाबी गरेको छ ।
भ्रमात्मक, उत्तेजनात्मक र शिथिलात्मक गरी तीन प्रकारले मदिराको सेवन गरिने भएका कारण यसलाई सबै मिलेर रोक्न प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले सबैलाई अनुरोध गर्नुभएको छ । गलत तरिकाबाट रोजीरोटी गर्ने कसैलाई छुट नभएकाले मदिरा ऐनअनुसार कारबाही गरेरै छोड्ने प्रहरी नायब उपरीक्षक शर्माको दाबी रहेको छ ।
घरेलु मदिरालाई जनस्तरसम्म सूचना प्रदान गरी विभिन्न चरणबाट नियन्त्रणमा जाने हिसाबले जिल्लामा लागूऔषध अपराध र मदिरा नियन्त्रणमा प्रशासनले कुनै पनि कसर बाँकी नराख्ने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, ‘नागरिक समाज, महिला सञ्जाललगायत सबै नागरिकले सहयोग गर्नुस् गलत गर्नेलाई कारबाही गर्न प्रशासन डग्मगाउँदैन ।’
सबै क्षेत्रबाट डोल्पा जिल्लामा मदिरा बढ्दो क्रममा रहेको भन्ने कुरालाई गलत सावित गर्ने भन्दै मदिरामुक्त जिल्ला बनाउने जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढाले प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार धर्म, संस्कार र रोजीरोटीका रुपमा मदिराको व्यवसाय गर्न नपाइने र मदिरामुक्त जिल्ला बनाउन सबैको भूमिका रहने भएकाले हरेक नागरिकको विशेष सहयोग रहने बताए ।
हरेक स्थानीय तह र जिल्ला सदरमुकाममा लागूऔषध र मदिराका कुनै पनि क्रियाकलाप हुन नदिने र नागरिकलाई मदिराको अनुभूति पनि गर्न नदिने समन्वय प्रमुख बुढाले दाबी गरे । उनले भने, ‘असम्भव भन्ने मुर्खको डायरीमा मात्र हुन्छ, हामी सज्जन नागरिकमा छैन, सबै मिलेर मदिरामुक्त जिल्ला बनाउँ ।’ मदिराले घरेलु हिंसा बढ्दो रहेपनि सुरक्षाकर्मी, महिला अधिकारकर्मी र नागरिकले विशेष भूमिका खेल्नुपर्ने नागरिक समाजका अगुवाको सुझाव छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ०९:१५