सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीको राजधानी सुर्खेत तीन दिनदेखि विद्युतविहीन

सुर्खेत । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि औद्योगिक क्षेत्रमा पनि २४ सै घन्टा बिजुली दिन थाल्यो । योसँगै मुलुक लोडसेडिङ मुक्त भयो । कर्णाली प्रदेशको राजधानी सुर्खेत मानबहादुर खड्काले भने तीन दिनदेखि बिजुली बाल्न पाएका छैनन् ।
आइतबारको हावाहुरीले विद्युतको पोल ढालेपछि सुर्खेत लगायत आसपासका क्षेत्रमा मंगलबार दिउँसोसम्म बिजुली आएको छैन । बिजुली नहुँदा खड्काकाको कम्प्युटर पसलमा काम हुँदैन । सानो लगानीमा व्यवसाय थालेका खड्काले सोलार, जेनरेटर वा इन्भर्टर राख्न सकेका छैनन् । खड्कालाई जेठ बैशाखमा बेस्सरी हावा चल्दा ग्राहक फर्काउनु पर्ने पीरले सताउन थाल्छ ।
‘हावा लागेको दिन म चिन्तित हुन्छु, बेस्सरी हावा चलेको केहीबेरमै बत्ती जान्छ,’ खड्काले भने, ‘त्यसपछि कहिले आउँछ पत्तो हुँदैन । अनि दिनदिनै पसल चलाउनु पर्ने हामीजस्ताको बिजोग हुन्छ ।’ यो समस्या सुर्खेतका लागि नौलो होइन । कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गत बाटोमा राखिएका पोल र तार लगायतका संरचनामा अलि ठूलो हावाले बारम्बार क्षति पुर्याउँछ । मर्मत समयमा नुहुँदा नागरिकले सास्ती पाउँछन् ।

समस्या हावाले क्षति गर्नुमात्र होइन, समयमा नै मर्मत नहुनु पनि हो । एकचोटी बिजुली गए बनाउन २४ घन्टासम्म लाग्छ ।

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन बर्दिया राष्ट्रिय निकुञ्जभित्र छ । राष्ट्रिय निकुञ्जमा विद्युतका पोलभन्दा रुख अग्ला भएकाले हावाले बारम्बार क्षति पु¥याउने विद्युत वितरण केन्द्र सुर्खेतका प्रमुख सुरज भण्डारीले बताए । ‘राष्ट्रिय निकुञ्जभित्र प्रसारण लाइन पर्छ, ठूला रुख भएकाले जोड्ले हावा लाग्यो भने समस्या आउँछ,’ भण्डारीले भने, ‘प्रसारणका संरचना कमजोर भएकाले ठूलो पानी पर्ने र हावा लाग्नेबित्तिकै विद्युत अवरुद्ध हुन्छ ।’
कोहलपुरदेखि सुर्खेतसम्मको विद्युत लाइन २३२ केभिएको नभएसम्म समस्या भइरहने भण्डारीको भनाइ छ । ‘यहाँ आउने लाइन २३२ केभिए नभएसम्म यो समस्या आइरहन्छ,’ उनले भने, ‘२३२ केभिएको प्रसारण लाइनमा टावर पनि ठूलो हुन्छ,अहिलेको जसरी हावाले छिटो बिगार्न सक्दैन ।’ समस्या हावाले क्षति गर्नुमात्र होइन, समयमा नै मर्मत नहुनु पनि हो । एकचोटी बिजुली गए बनाउन २४ घन्टासम्म लाग्छ ।
‘रोडभन्दा धेरै पर विद्युतको लाइन छ, मर्मत गर्न जाँदा हिँडेर जानुपर्छ,’ प्रमुख भण्डारीले भने,‘जंगलभित्र जान निकुञ्जको सुरक्षामा बसेको नेपाली सेनाको स्वीकृति लिनुपर्छ । राती उनीहरूले जंगलमा जान दिदैँनन् । अनि समय त लागिहाल्छ ।’ यो प्रसारण लाइन २०४५ म बनेको हो । रत्न राजमार्ग बन्नुभन्दा पहिला बनेकाले लाइन गोरेटो बाटोबाट ल्याइएको थियो । २०४५ सालमा राजा वीरेन्द्र सुर्खेत आउने भएपछि हतारहतारमा प्रसारण लाइनको काम सकिएको थियो ।
यता, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहील हावा लाग्ने बित्तिकै बिजुली जाने समस्या समाधान गर्न तत्काल कुनै उपाय नभएकोे बताए । पूर्वउर्जामन्त्रीसमेत रहेका शाहीले मागअनुसार विद्युतको आपुर्ति नहुनु तथा प्रसारण लाइन निकुञ्जभित्र हुनुले बारम्बार समस्या भएकाले प्रदेश सरकारले तत्कालै केही गर्न नसक्ने बताए । पोल भएको ठाउँमा डबल सर्किट राख्नुका साथै लाईनभन्दा केही मिटर वरिपरिका रुख काटेमा यो समस्या थोरै समाधान हुने उनको भनाइ छ । त्यसका लागि प्रदेश सरकारले बर्दिया राष्ट्रिय निकुञ्जसँग छलफल गर्ने मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १२:३१