सूचनाको शक्ति - The Power Of Information

        

एक करोड जनसंख्या प्रभावित, ३०० ट्रान्सफर्मरमा क्षति


काठमाडौं । सरकारको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले वैशाख ३० गते आइतबार रातिदेखि लागू हुने गरी औद्योगिक करिडोरमा लोडसेडिङको अन्त्य गर्याे । विशेषगरी वीरगन्ज, विराटनगर, हेटौंडा औद्योगिक क्षेत्रमा दैनिक रहेको तीन घण्टा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएकै साँझबाट तराईमा चलेको हावाहुरीका कारण प्राधिकरणको प्रसारण प्रणालीमा ठूलो क्षति भएको छ ।
प्राधिकरणलाई के कति क्षति भयो भन्ने बारेमा हाल जानकारी आइसकेको छैन । तराई–मधेसका धेरै जसो प्रसारण प्रणाली ध्वस्त भएको छ । प्राधिकरणले मर्मत सम्भारमा ध्यान नदिएको भन्दै हिजो रातिदेखि तराई मधेस पूर्णरूपमा अन्धकार हुन पुगेको छ । करिब एक करोड नागरिक प्रभावित भएका छन् ।
हावाहुरीले विशेषगरी ३३ केभी र ११ केभी प्रसारण लाइन क्षतिग्रस्त भएका छन् । ३०० भन्दा बढी ट्रान्सफर्मर ढलेका छन् । समस्या समाधानको प्रयास भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । कतिपय स्थानमा प्राधिकरणको मर्मत टोलीसमेत पुग्न सकेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हावाहुरी महेन्द्रनगरबाट प्रवेश गरेको थियो । महेन्द्र्रनगरबाट प्रवेश गरेको हावाहुरीले धनगढी, कोहलपुर, दाङ, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, विराटनगर, दुहवी, तथा अनारमणिसम्म प्रभावित भएको छ ।
यस्तै पूर्वाञ्चलको पहाडी क्षेत्रमा उपलब्ध गराइएको विद्युत् सेवा समेत अवरुद्ध भएको छ । हावाहुरीका कारण संखुवासभा, भोजपुर, इलाम, झापाको वितरण प्रणालीसमेत क्षति भएको छ । हावाहुरीका कारण आइतबार राति तराई–मधेस क्षेत्रस्थित नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको र त्यसलाई सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने भएको छ ।

हावाहुरीले विशेषगरी ३३ केभी र ११ केभी प्रसारण लाइन क्षतिग्रस्त भएका छन् । ३०० भन्दा बढी ट्रान्सफर्मर ढलेका छन् । समस्या समाधानको प्रयास भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । कतिपय स्थानमा प्राधिकरणको मर्मत टोलीसमेत पुग्न सकेको छैन ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको छ । महेन्द्रनगरबाट शुरु भएको हावाहुरीले सयौं घर तथा आवासको छाना उडाउनुका साथै प्राधिकरणको वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ ।
हावाहुरीका कारण ढलेको खम्बा तथा तार तान्ने काम सम्पन्न गर्न कम्तीमा पनि दुई दिन लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । विराटनगर क्षेत्रको ६० प्रतिशत प्रसारण प्रणालीलाई पुनः सञ्चालनमा ल्याइएको भए पनि ग्रामीण क्षेत्रमा समस्या पैदा भएको छ । ठूला प्रसारण लाइनमा क्षति नपुगेको भए पनि ३३ केभी र ११ केभीका प्रसारण लाइन हावाका कारण बढी प्रभावित भएका छन् ।
यस्तै कालीगण्डकी–बुटवल खण्डको १३२ केभी प्रसारण लाइनको एउटा सर्किटमा समेत समस्या आएको छ । प्राकृतिक विपत्तिका कारण परेको समस्या समाधान गर्न प्राधिकरण लागि परेको उल्लेख गरेको छ । महेन्द्रनगर, कोहलपुर, नेपालगन्ज, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, दुहवी र अनारमनिसम्म सबैभन्दा बढी प्रभाव परेको छ ।
वितरण प्रणाली सुधार गर्न प्राधिकरणले उल्लेख्य मात्रामा जनशक्ति परिचालन गरेको जनाएप नि हावाहुरी प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति परिचालित हुन सकेको छैन । हावाहुरीका कारण पोल तथा तार ढलेको र लत्रेको भए प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा जिल्ला कार्यालयलाई जानकारी दिनसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ११:१६