फ्रान्सस्थित एयरबस फ्याक्ट्रीमा नेपाल एयरलान्सले किनेको वाइडबडी विमान ।
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरेका दुई एयरबस ३३०–२०० वाइडबडी विमान उडानका लागि पाइलटलाई तालिम दिन फ्रान्स पठाइएको छ । पहिलो चरणमा निगमले एयरबस ३२०–२०० विमान उडान गर्दै आएका दुई जना पाइलटलाई सोमबार फ्रान्स पठाइएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
दुई पाइलटहरुमा सजल कुइँकेल र सन्दीप पौडेललाई रहेका छन् । दुई हप्ताको तालिमका लगि उनीहरु फ्रान्स गएको श्रेष्ठले जानकारी दिए । दईवटा वाइडबडी उडानका लागि थप नेपाली पाइलटहरुलाई केही हप्ता पछि ट्रेनिङका लागि लाने निगमको तयारी छ । नेपाल एयरलाइन्सले असारको अन्तिम सातादेखि ब्रान्ड न्यू वाइडबडी विमानबाट उडान गर्ने तयारी गरिरहेको छ ।
दुईवटा वाइडवडी मध्ये एउटाको एसेम्बल कार्य सम्पन्न भएर नेपाल ल्याउने तयारी भइरहेको छ । फ्रान्सस्थित एयरबस फ्याक्ट्रीमा एसेम्बलपछि नेपाल एयरलाइन्सको थिम कलर एवं लोगो पेन्टिङको काम समेत पूरा भइसकेको निगमले जनाएको छ । निगमकाअनुसार वाइडबडी विमान जुन २७ अर्थात असार १३ मा नेपाल आइपुग्नेछ ।
यो विमान निरीक्षणका लागि निगमको एउटा टोली अघिल्लो महिना फ्रान्स पुगेर फर्किएको थियो भने दोस्रो टोली समेत फ्रान्स पुगिसकेको छ । निगमको महाप्रवन्धक सहितको सञ्चालक समितिका टोली वाइडवडी विमान निरीक्षणका लागि बैशाख २८ गते फ्रान्स गएको निगमका प्रवक्ता श्रेष्ठले बताए । नयाँ विमान एयरबस ३३०–२०० उडानका लागि पाइलट र को–पाइलट गरी २८ देखि ३० जना पाइलट आवश्यक पर्नेछ ।
एउडा वाइडबडी विमानका लागि क्याप्टेन ८ र कोपाइलट ८ आवश्यक हुन्छ । निगमले सम्झौता २०७३ चैत २५ मा एएआर कर्पोरेशनमार्फत् एयरबस ३३०–२०० सिरिजका दुई ब्रान्ड न्यू विमान खरिद सम्झौता गरेको थियो । पहिलो विमान आइपुगेको केही समयपछि दोस्रो विमान आइपुगने निगम महाप्रबन्धक सुगतरत्न कंशाकारले नेपालखबरलाई बताए । एयरबस ३३०–२०० सिरिजको पहिलो विमानमा २८० सिट रहनेछन् ।
दुईवटा विमान २०९ दशमलब ६ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रुपैयाँ पर्नेछ । सम्झौतामा पहिलो विमान २०१८ को अप्रिलसम्म र दोस्रो विमान भने मे महिनासम्म उल्लेख थियो । पूर्व निर्धा्िरत समयभन्दा तीन महिना ढिलोगरी विमान नेपाल ल्याउने तयारी भएको हो । नयाँ विमान आउने भएपछि निगमले त्यसको अपरेसनमा ध्यान केन्द्रित गरेको उनले बताए । नयाँ विमान आइपुगेको दुई हप्ताभित्र सबै प्रक्रिया पूरा गरी व्यवसायिक उडान थाल्ने तयारीमा निगम छ ।
नयाँ विमानले सुरुमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिनुपर्ने हुन्छ । त्यस अगाडि नयाँ विमानको परीक्षण उडान हुनेछ । यो बाहेक सो विमान खरिदको भन्सार समेत चुक्ता गर्नु पर्ने हुन्छ । यी प्रक्रिया पूरा भएपछि वाइडवडी विमानले त्रिुभवन अन्तर्रा्िष्ट्रय विमानस्थल केन्द्रित रहेर अन्तर्राष्ट्रिय उडान गर्नेछ । निगम व्यवस्थापनका अनुसार नयाँ वाइडबडी विमान थप भएसँगै दक्षिण कोरिया, जापान, साउदी अरेयिबासहितका गन्तव्यमा उडान थप हुनेछन् ।
‘कोरिया, जापान र साउदी अरेबियाबाट धेरै नेपाल आवतजावत गरेको तथ्याङ्क भएकाले यी देशहरुलाई मुख्य गन्तव्यको रुपमा अगाडि सरेका हौं,’ निगमका महाप्रवन्धक कंसाकार भन्छन् । ती देशहरुमा उडान अनुमतिका लागि निगमले प्रक्रिया अघि बढाइसकेको छ । नेपाल सरकार स्वामित्वको एयरलाइन्स भएका कारण अनुमति पाउन निगमलाई कुनै अप्ठ्यारो हुनेछैन ।
निगमले हाल अन्तर्राष्ट्रिय उडान बोइङ ९ एसिबी–५७५ र दुईवटा एयरबस ३२० विमानबाट गर्दै आएको छ । निगमले हाल नेपालबाट ८ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्छ । हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बईमा नेपाल एयरलाइन्सका उडान रहेका छन् । आन्तरिक उडानका लागि निगमसँग वाइ १२ चारवटा र एमए १६ दुईवटा र ३ वटा ट्विरनेटर विमान छन् ।
।