प्रकाश आचार्य । बुटवल । केही वर्षयता रूपन्देहीमा सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको देखिएको छ । तर यो आकर्षण विद्यालय तहको अध्ययनका लागि नभई उच्च शिक्षामा लागि पाइने सुविधा (छात्रवृत्ति) लक्षित रहेको पाइन्छ ।
अभिभावकहरू संंस्थागत विद्यालय छाडेर आफ्ना विद्यार्थीलाई सामुदायिक विद्यालयमा एक दुईमा होइन, सिधै ८–९ कक्षामा भर्ना गराउन तछाडमछाड गर्छन् । नाम चलेका यहाँका केही सामुदायिक विद्यालयको नयाँ विद्यार्थी भर्ना दरले यसलाई पुष्टि गर्छ ।
तिलोत्तमा–६, स्थित शान्ति नमूना माविमा यसवर्ष करीब ५ सय नयाँ विद्यार्थी भर्ना भए । त्यसमध्ये कक्षा ७, ८ र ९ मा सबैभन्दा धेरै विद्यार्थी भित्रिए । त्यस्तै बुटवल– ११, देवीनगरस्थित नविन औद्योगिक कदरबहादुर रिता माविले पनि नयाँ शैक्षिक सत्रमा २ सय ५० नयाँ विद्यार्थीलाई भर्ना लिएको छ ।
जसमध्ये कक्षामा धेरै छन् । विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेत उच्च शिक्षा अध्ययनका लागि सामुदायिक विद्यालयबाट एसइई पास भएका विद्यार्थीहरूलाई विशेष आरक्षणको व्यवस्था हुँदा विद्यार्थीहरू माध्यामिक तहको पढाइका लागि लागि सामुदायिकमा आउने गरेको बताए ।
‘कक्षा ८ र ९ मा भर्नाका लागि धेरै विद्यार्थी आउँछन्,’ प्राचार्य बस्नेतले भने, ‘विद्यार्थी ओहिरिनु हाम्रो लागि राम्रो हो । त्यसैले योजना नै बनाएर ७, ८ र ९ विद्यार्थी भर्ना गरिन्छ ।’ बुटवलको कालिका मानवज्ञान माविले पनि यो वर्ष करीब १ हजार २ सय नयाँ विद्यार्थी भर्ना र्गयो । त्यसमध्ये ८ कक्षामा मात्रै करीब पाँच सय विद्यार्थी छनौटमा परेका छन् ।
तर विद्यालयले यसवर्ष कक्षा ९ मा भर्ना खुलाएको छैन । विद्यालयका प्राचार्य घनश्याम पाठकले उच्च शिक्षाका लागि फाइदा लिन भन्दा आफूहरूको सिकाइ उपलब्धि राम्रो भएकोले विद्यार्थीको रोजाइमा कालिका परेको बताए । ‘संंस्थागतमा भन्दा हाम्रोमा घोकन्ते होइन नैतिकता सहितको गुणस्तरीय शिक्षा दिइन्छ,’ उनले भने ।
संस्थागत विद्यालयका विद्यार्थीहरू सामुदायिकमा गएर राम्रो नतिजा दिएर नाम कमाएको हुन् भन्ने प्रश्नमा पाठकले भने, ‘यो सबै मिथ्या कुरा हो । कुन निजी स्कूलबाट आएका विद्यार्थीले हाम्रोमा आएर टप गरे ? त्यो प्रमाण देखाउनुहोस् । बाल विकासदेखि सामुदायिकमै पढेका विद्यार्थीले हाम्रो स्कूलबाट टप गरेका छन् ।’ बुटवलकै कान्ति माविमा पनि ७, ८ र ९ मा ५–५ वटा समूह बनाएर पढाउन थालिएको छ । अन्य कक्षा २ वटा मात्र समूह छन् ।
विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले भने, ‘८ र ९ विद्यार्थी थेगिनसक्नु चाप हुँदा बाध्य भएर सेक्सन विभाजन गर्नुपर्यो ।’ सरकारले तुलनात्मक रूपमा राम्रो र खर्चिलो मानिने एमबीबीएस, एग्रीकल्चर, फरेस्टी लगायतका विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूमध्ये सामुदायिक विद्यालय पढेका विद्यार्थीलाई छात्रवृत्तिमा विशेष सुविधा दिने भएकाले सामुदायिकतर्फ विद्यार्थी र उनीहरूका अभिभावक आकर्षित भएका हुन् ।
तल्लो कक्षामा अंग्रेजीको आधार बनाउने र माथिल्लो कक्षाका लागि सामुदायिकमा भर्ना गर्ने प्रवृत्ति बढेको छ । यहीँ कारण सामुदायिक विद्यालयका तल्लो कक्षामा कम विद्यार्थी हुन्छन् भने निजीमा बढी । केही अभिभावकहरू संस्थागत विद्यालयमा मावि तहमा विद्यार्थीको शुल्क अत्याधिक हुने हुँदा त्यसलाई थेग्न नसकेर सामुदायिकमा भर्ना गुर्नपरेको बताउँछन् ।
शान्ति नमूना माविका प्राधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यार्थीलाई आकर्षित गर्न आफूहरूले कुनै किसिमको प्रचारबाजी नगरेको बताउँछन् । ‘हाम्रो विद्यालय वरपर धेरै सामुदायिक प्रावि र निमावि छन्, त्यहाँको अध्ययन पूरा गरेपछि कक्षा ८ मा हाम्रो विद्यालयमा आउँछन् । निजीबाट आउने पनि छन् ।’ यहाँका संस्थागत विद्यालयहरू भने, आफूहरूका विद्यार्थीले सामुदायिक विद्यालयको नाम कमाइदिएको रहेको दाबी गर्छन् ।
निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रूपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले उच्च शिक्षामा ४५ प्रतिशत छुटका लागि सामुदायिकमा जाने प्रवृत्ति बढेको बताए । ‘बुद्धदीप इङ्लिस स्कूल रूद्रपुरबाट लुम्बिनी ज्ञान निकेतमा हाम्रो विद्यार्थी विनोद पौडेल ८ कक्षामा गए । त्यहाँबाट उनी २०७२ सालको एसएलसीमा विशिष्ट श्रेणीसहित उत्तीर्ण भए । ‘हाम्रो विद्यालयले यतिजना विशिष्ट श्रेणीसहित उत्तीर्ण भए भनेर,’ अध्यक्ष पौडेलले भने ।
पौडेलले थपे, ‘बुटवल क्षेत्रका होराइजन, एभरेष्ट, दीप, बुटवल पब्लिक र सिद्धार्थका विद्यार्थी कालिका, शान्ति र कान्तिमा गएर टपेका हुन् । ती सामुदायिक विद्यालयले हाम्रोबाट यति विद्यार्थीले टप गरे भनेर दाबी नगरे हुन्छ, हामी अभिलेख दिन पनि तयार छौँ ।’ अभिभावक संघ, रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली राज्यले निजीबाट एमबीबीएस, इञ्जिनियरिङमा आउने विद्यार्थीलाई ४५ प्रतिशत छात्रवृत्ति नदिँदा अहिलेको अवस्था आएको बताए । -लोकान्तरबाट
।