डोल्पा । जगदुल्ला गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । छिमेकी जिल्ला जुम्लासम्म पुगेको कर्णाली राजमार्गबाट जगदुल्ला गाँउपालिकामा पहिलो पटक जीप पुगेको छ । जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउँपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट बा १९ च १६६८ नम्बरको जिप पुगेपछि स्थानीयवासीले खुशी हुँदै स्वागत गरेको र जीप हेर्नेहरुको भीड लागेको स्थानीयवासी हरिबहादुर शाहीले बताए ।
साविकको रिमी र काइगाउँ गाविस मिलेर बनेको जगदुल्ला गाउँपालिकामा कर्णाली राजमार्गमा जोडिने डोल्पाको पहिलो स्थानीय तह भएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले बताए । ‘ठूलो प्रयासबाट जगदुल्ला गाउँपालिकालाई जीप सञ्चालन कर्णाली राजमार्गमा जोड्न सफल भयौँ, अबको केही महिनामा साना मालवाहक गाडी पनि सञ्चालनमा आउने छन्,’ अध्यक्ष रोकायले भने ।
जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरे लेकबाट त्रिपुरासुन्दरीसम्मको ७२ किलोमिटर सडकखण्ड हाल निर्माणाधीन छ । नेपालगञ्जबाट लामो दूरीमा पर्ने भए पनि कर्णाली राजमार्गमा जगदुल्ला गाउँपालिका जोडिएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य सामान सस्तो हुने र यात्राका लागि पनि सहज हुनेछ ।
।