सूचनाको शक्ति - The Power Of Information

        

कथा संग्रह ‘रागिनी’ बजारमा


बाँके । साहित्यकार कल्पना खरेलको कथा संग्रह ‘रागिनी’ बजारमा आएको छ । कथा संग्रह ‘रागिनी’को नेपालगन्जमा आइतबार विमोचन गरिएको छ । गौरी पव्लिक रिलेशन एण्ड पब्लिकेशनद्वारा प्रकाशित ११० पृष्ठको कथा संग्रह ‘रागिनी’मा २० वटा कथा संग्रहित छन् ।
अन्तर्राष्ट्रिय साहित्य समाज भेरीद्वारा आयोजित कार्यक्रममा साहित्यकार एवं प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ हरिप्रसाद तिमिल्सिना, निबन्धकार सिर्जन लम्साल, उर्दू सायर जमील हाशमी, अन्तर्राष्ट्रिय साहित्य समाज भेरीकी उपाध्यक्ष अनुपमा करारा विवश र स्वयं कृतिकारले संयुक्तरुपमा विमोचन गरेका थिए ।
वरिष्ठ साहित्यकार रेग्मीले संग्रह विषयवस्तु उठानका दृष्टिकोणले महत्वपूर्ण भएपनि अझैं परिष्कृत गरेर लेखनीलाई निरन्तरता दिन सुझाव दिए । कथाकार खरेलले आगामी दिनमा अझैं परिष्कृत रुपमा लेखनीलाई बढाउने प्रतिवद्धता व्यक्त गरिन् । ‘रागिनी’ खरेलको चौथो कृति हो । कृति र कृतिकार बारे शुक्रऋषि चौलागाई, इन्द्र भन्डारी इन्द्रेणी, खगेन्द्र गिरि कोपिला र मिना बरालले चर्चा गरेका थिए ।
सोही समारोहमा ऋचा लुइटेल, चरित्रा शाह, सन्तोषी बिस्ट, श्रीधर भन्डारी, प्रकाश सङ्गम र निरज दाहाल समेतका कविहरुले आआफ्ना रचना प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय साहित्य समाज भेरीकी उपाध्यक्ष अनुपमा करारा विवशको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रमको सञ्चालन संस्थाकी सचिव तथा पत्रकार निशु जोशीले गरेकी थिइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ११:२७