सूचनाको शक्ति - The Power Of Information

        

हुरी र वर्षाले तराई अन्धकार, विद्युत आपूर्तिमा समस्या

काठमाडौं । चर्को हावाहुरीसँगैको भीषण वर्षाले देशभरि प्रसारण तथा वितरण लाइनमा क्षति पुर्याएको छ । पोल ढलेर वा लाइन चुडिँदा तराईमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको वितरण लाइन तथा सबस्टेसनमा ठूलो क्षति पुगेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए ।
उनका अनुसार देशभर क्षति पुगे पनि तराईमा बढी समस्या देखिएको छ । हावा–हुरीले ३३र११ केभी वितरण लाइनका सयौं पोल ढालेपछि तराईमा पूर्णरूपमा विद्युत आपूर्ति रोकिएको छ । प्राधिकरणले विराटनगर, जनकपुर, हेटौंडा र अत्तरिया क्षेत्रीय कार्यालय अन्तरगत वितरण लाइन तथा सबस्टेसनमा क्षति पुगेको जानकारी दिएको छ ।
‘हावाहुरीले तराईमा ठूलो क्षति पुर्याएको खबर आएको छ,’ उनले सोमबार भने, ‘अवरुद्ध सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।’ पोल ढलेका केही ठाउँमा विद्युत आपूर्ति सुचारु हुन एक साता लाग्ने उनले बताए । सोमबार दिउँसोसम्म सहरी क्षेत्रको अवरुद्ध सेवा सुचारु गर्ने गरी प्राविधिक टोली खटाइएको र ग्रामीण भेगको सेवा नियमित गर्न समय लाग्नेछ ।
सोमबार बिहानबाट अवरुद्ध विराटनगरमा दिउँसोबाट विद्युत सुचारु भएको क्षेत्रीय प्रमुख सचितानन्द यादवले बताए । धनकुटाको सिंजुवा, संखुवासभाको खाँदबारी र सुनसरीको दुहबीमा बढी क्षति भएकाले अझै सेवा सुचारु हुन सकेको छैन । मिर्चैया वितरण लाइन तथा गौर, पोखरिया र सिम्रौनगढ सबस्टेसनमा समस्या देखिएको छ ।
हेटौंडा क्षेत्रीय कार्यालय अन्तरगत केही स्थानमा सेवा अवरुद्ध छ । चितवनमा सोमबार विद्युत आपूर्ति बन्द छ । अत्तरिया क्षेत्रीय कार्यालयअन्तर्गत वितरण लाइन तथा सबस्टेसनमा पुगेको क्षतिको विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । सेवा अवरुद्ध हुँदा लोड कम भई उच्च भोल्टेजको समस्या देखिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १०:५४