सूचनाको शक्ति - The Power Of Information

        

बगरमा गरिएको तरकारीखेतीबाट मनग्य आम्दानी

दाङ । कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजाराँै किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखाँै रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका हुन् ।
देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा सयाँै किसानले व्यक्तिगत रूपमा र अन्यले २०० वटा समूह बनाएर अहिले बगरमा सामूहिक तरकारीखेती गरिरहेका छन् । राप्ती नदी आसपासका एक नगरपालिका र दुई वटा गाउँपालिकामा रहेका दुई हजार किसानले बगरखेतीबाटै एक मौसममा एकजनाले रु ८० हजारदेखि रु चार लाखसम्म आम्दानी गर्न सफल भएको बगरमा तरकारीखेती गरिरहेकी लमही नगरपालिका बलरामपुरकी प्रमिला चौधरीले बताइन् ।
उनका अनुसार नदीले कटान गरेर बगर बनाएको एक सय हेक्टरभन्दा बढी जमिनमा तरकारीखेती गरेर देउखुरीका विपन्न समुदायका किसानले यतिबेला राम्रो कमाइ गरिरहेका छन् । विशेष गरेर पुसदेखि जेठ महिनासम्म तरकारीखेती हुने गरेको छ । किसान नन्दु चौधरीले आठ वर्षअघि स्थानीय उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले उपलब्ध गराएको बीउ तथा मल र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा त्यहाँ किसानले बेमौसमी तरकारी भिन्डी, बोडी, लौका, फर्सी, करेला, परवर, गाजर, खरभुजाको व्यावसायिक खेती गरेको जानकारी दिए ।
उनका अनुसार अहिले एक दिनमै प्रतिकिसानले ७० देखि ८० किलोसम्म तरकारी बारीबाटै बिक्री गर्न गरेका छन् । अहिले त्यहाँ उत्पादन गरेको तरकारी जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही, लमही, भालुबाङ नारायणपुरलगायतका बजारका साथै बुटवल, नेपालगञ्जमा समेत पुग्ने गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ०४:१६