सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थी अभावमा विद्यालय बन्द

रुकुम । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो ।
शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन । यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना हुन जाने र यहाँ भर्ना हुन नआएपछि यहाँको विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।
यहाँका विद्यार्थी मुसीकोट नगरपालिका वडा नं ५, सेरीगाउँमा रहेको यमुना नन्द माध्यमिक विद्यालयमा भर्ना हुने गरेका छन् । यहाँबाट सेरीगाउँ आउन आधा घण्टाभन्दा कम समय लाग्ने गरेको छ । यहाँको पढाइ गुणस्तरीय नहुँदा विगत वर्षहरूमा पनि विद्यार्थी कम हुने गरेको स्थानीयवासीको भनाइ छ ।
यो विद्यालयको समायोजन हुने हल्लाले यहाँका विद्यार्थी छिमेकी विद्यालयमा भर्ना हुन गएका यहाँकी शिक्षिका यमुना चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बालविकास केन्द्रमा पाँचजना मात्र बालबालिका भर्ना भएका छन् । विद्यालय बन्द भएपछि उनीहरू विद्यालय आउन सकेका छैनन् ।
नगरपालिकामा वैशाख २ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गरिएको थियो । वैशाख महिनाभरि विद्यार्थी भर्ना गर्न सकिने मुसिकोट नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । भर्ना अभियानसमेत प्रभावकारी नहुँदा यहाँका विद्यार्थी अन्य विद्यालयमा गएको बताइएको छ ।
यो विद्यालय २०५२ सालमा स्थापना गरिएको थियो । यहाँ बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो । विद्यालयमा प्राथमिक तहका स्थायी दरबन्दी तीन, बालविकास केन्द्रका लागि एक र कार्यालय सहयोगी एकजना कार्यरत छन् । यहाँ नगर शिक्षा समितिले समेत अनुगमन गर्दा विद्यालय बन्द थियो ।
विगतमा नक्साङ्कन नगरी धमाधम विद्यालय सञ्चालन गर्दा यस्तो समस्या आएको नगर शिक्षा समितिका शाखा अधिकृत विनाराम खड्काले जानकारी दिए । उनका अनुसार विद्यालय सञ्चालन गर्दा नक्साङ्कन जरुरी छ । यस विद्यालयलाई समायोजन प्रक्रियामा लिने नगर शिक्षा समितिका शाखा अधिकृत खड्काको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ०३:५९