सूचनाको शक्ति - The Power Of Information

        

बाह्र वर्षमा २१ हजार बालबालिका र युवा बेपत्ता


काठमाडौं । बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् । बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४/७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ ।
चालू आवको आठ महिनामा मात्र देशभरबाट एक हजार ६०८ बालबालिका हराएको उजुरी परेको छ । केन्द्रका अनुसार पाँचदेखि १८ वर्ष उमेर समूहका बालबालिका र युवा गरीबी, गालीगलौज र घर छाडेर भाग्ने गरेका छन् ।
केन्द्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सीताराम रिजालले चालू आवमा हराएका एक हजार ६०८ मध्ये ६६५ पुरुष र ९४३ महिला हराएको उजुरी केन्द्रमा परेको जानकारी दिए । ‘चालू आवको साउनदेखि चैत मसान्तसम्म हराएकामध्ये ५३९ जनालाई फेला पारेका छौँ,’ उनले भने ।
फेला परेकामध्ये सबैलाई परिवारको जिम्मामा लगाइसकिएको उनको भनाइ थियो । बाह्र वर्षमा हराएका २१ हजार ४३५ मध्ये पुरुष १० हजार ४६२ र महिला १० हजार ९७३ छन् । सोमध्ये १० हजार ७४४ फेला परेको र १० हजार ६९१ अझै बेपत्ता छन् ।
यसैगरी चालू आवमा बेवारिसे ३२६ जना फेला पारेका छन् । फेला पारिएका बेवारिसेमध्ये २०३ लाई परिवारसँग पुनर्मिलन गराइदिएको, १२१ लाई संरक्षणगृहमा राखिएको र दुई जना पुनः बालगृहबाट भागेको केन्द्रले जनाएको छ ।
आव २०६३/६४ देखि २०७४/७५ सम्म चार हजार ४९९ जना बेवारिसे अवस्थामा फेला परेका छन् । तीमध्ये दुई हजार ९८१ पुरुष र एक हजार ५१८ महिला छन् । बेवारिसे अवस्थामा फेला पारिएकामध्ये तीन हजार ४३८ लाई सम्बन्धित परिवारको जिम्मा लगाइएको र ८८३ जनालाई संरक्षणमा राखिएको छ ।
यसैगरी संरक्षणमा राखिएको अवस्थामा १२ वर्षका अवधिमा १६९ जना भागेका छन् । ‘परिवारको पत्ता नलागेका र घर फर्काउन सक्ने अवस्थामा नरहेकाहरूलाई संरक्षणगृहमा राखिएको हो,’ प्रमुख रिजालले भने । केन्द्रीय बालकल्याण समितिका अधिकृत रामबहादुर चन्दले गरीबी, मानव बेचबिखन, सामाजिक मूल्यमान्यता, परिवारले बेवास्ता गर्नुलगायत कारणले हराउने गरेको जानकारी दिए ।
उनले हराएकाहरूलाई खोजी गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए । चन्दले हराएका बालबालिकालाई चाँडो खोजी गर्नका लागि समितिले सम्बन्धित निकायलाई खबरदारी गर्ने काम गरिरहेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ०३:४६