प्रेम रौले । बाजुरा । जनयुद्ध सकिएको करीब २१ वर्ष पुगे पनि बेपत्ता भएका बाजुराका ३० जना घर फर्कन सकेका छैनन् । राज्य र दुवै माओवादी पक्षबाट बाजुराका सर्वसाधारण जनताले हदैसम्म दुःख पाएका थिए । द्वन्द्वकालमा बालबालिकादेखि वृद्धवृद्धासमेत माओवादी र सरकार पक्षबाट पीडित बन्दै गएका थिए ।
द्वन्द्वकालमा बेपत्ता स्थानीयवासी लामो समय बितिसक्दा पनि घर फर्कका छैनन् । बेपत्ता भएका घरका आफन्त बाटो कुर्दै बसिरहेका छन् । द्वन्द्वकालमा सरकार र तत्कालीन माओवादी पक्षबाट बेपत्ता पारिएका ३० जना अझै घर फर्कका छैनन् । तिनको खोजीका लागि बाजुरा, बेपत्तासम्बन्धी आयोगमा उजुरी दर्ता भएका छन् ।
बेपत्ता पारिएकामा तत्कालीन राज्यपक्षबाट ११, माओवादी विद्रोही पक्षबाट १६, माओवादी र राज्यपक्षबाट एक र कुन पक्षले बेपत्ता पारेको हो भन्ने थाहा नभएका दुई जना रहेको उजुरी परेको स्थानीय शान्ति समितिको कार्यालय प्रमुख कर्णबहादुर बुढाले जानकारी दिए । दुई जना बेपत्ताका परिवारले मात्र राहत पाएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताए ।
राहत पाउनेमा स्वामी कार्तिक गाउँपालिका–३ का टेकेन्द्रबहादुर शाही र हिमाली गाउँपालिका–३ का जंगबहादुर रोकायका परिवार मात्र छन् । बेपत्ता भएकाका परिवारलाई प्रति बेपत्ता व्यक्ति रु १० लाख आर्थिक वर्ष २०७३/७४ मा राहतस्वरुप वितरण गरिएको स्थानीय शान्ति समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।
द्वन्द्वकालमा मृत्यु भएका नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीका परिवारलाई प्रतिमृतक रु १८ लाखका दरले करीब रु सात करोड ६३ लाख वितरण गरिएको प्रजिअ बरालको भनाइ छ । यसैगरी द्वन्द्वकालमा घरबार नै छाडेर विस्थापित दुई हजार २८२ परिवारमध्ये आव २०७३/०७४मा एक परिवारका प्रतिव्यक्तिले रु २५ हजारका दरले करीब रु तीन करोड ७३ लाख राहत दिइएको जिल्ला प्रशासन कार्यालय बाजुरामा अभिलेख छ ।
प्रतिपरिवार प्रतिव्यक्तिका दरले रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका लेखापाल लालबहादुर विष्टले बताए । विस्थापितमध्येका एक हजार ९०५ परिवारले पुनःस्थापनाका लागि रकम लिएको र बाँकी ३७७ परिवारलाई पुनःस्थापना गर्नका लागि बजेट अपुग भएपछि रु ९१ लाख ५० हजार माग गरिएको लेखापाल विष्टले बताए ।
।