सूचनाको शक्ति - The Power Of Information

        

जनकपुरमा मोदीले गरे सय करोडको सहयोग घोषणा


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासको धार्मिक क्षेत्रको विकासका लागि एक सय करोड सहयोगको घोषणा गरेका छन् । भारतीय नरेन्द्र मोदीले भारत–नेपाल साझेदारी अगाडी बढाउनका लागि आफ्नो नेपाल भ्रमण भएको बताएका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंशामा लामो समय खर्चेका मोदीले नेपाल भारत सम्बन्धको आधार त्रेतायुग भन्दा अघिदेखि रहेको बताए । उनले राजनीतिक, कुटनीतिक भन्दा पनि नेपाल भारत सम्बन्ध देवत्वको नीतिमा रहेको बताए । यसका लागि कुनै सरकार वा व्यक्तिको नभई संस्कृति र परम्पराको सम्बन्ध प्रगाढ रहेको बताए ।
शुक्रबार जनकपुरको बाह्रविगाहमा नागरिक अभिनन्दन लिएपछि मोदीले भारतको ‘नेबरहुड पोलिसी’मा सबैभन्दा अगाडी रहेको बताएका छन् । उनले नेपालको सामाजिक, आर्थिक परिवर्तनका लागि अगाडी बढेका कारण यसमा भारतको ठूलो सहयोग हुने बताए । १० वर्ष पहिले नेपालका युवाले बन्दुक छाडेर मतलाई चुनेका कारणले नेपाल लोकतान्त्रिक पद्दतीको अग्रस्थानमा पुगेको मोदीले बताए ।
उनले नेपाल बुलेटदेखि बुद्धसम्मको यात्रा देखाउने ताकत भएको मुलुक रहेको भन्दै धन्यवाद दिए । ‘समृद्ध नेपाल सुखी नेपालीको सपना देख्नु भएको छ, प्रधानमन्त्री ओलीको उद्देश्यलाई पुरा गर्न सवा सय करोड हिनदुस्तानीको तर्फबाट शुभकामना दिन्छु,’ उनले भने, ‘यो मेरो नेतृत्वको सरकारको सपना जस्तै छ । त्यहाँ सबका साथ, सबका विकास भनेर हामी अगाडी बढिरहेका छौं ।’
‘जब मैले सबका साथ, सबका विकासको कुरा गर्छु यो छिमेकीका लागि पनि हुन्छ । जब समृद्ध नेपाल सुखी नेपालीको अभियान सुन्छु म झन खुसी हुन्छु’, उनले भने,‘२०२२ सम्म नयाँ भारत बनाउने लक्ष्य राखिएको छ । यो सपनासँग नेपाल जोडिन्छ ।’ उनले नेपाल र भारतका मानिस निरन्तर आवत जावत गर्नुपर्ने बताउँदै नदिदेखि हिमालदेखि तराईसम्म जोडिएको बताए ।
आजको युगमा यतिमात्र काफी नरहेको बताउँदै राजमार्गदेखि रेलमार्गसम्म जोडिनुपर्ने बताए । उनले नेपाल र भारत विद्यतु, भन्सार, विमान सेवा विस्तार, जलमार्गदेखि पनि जोडिनुपर्ने बताए । ‘जल, थल र अन्तरिक्षमा पनि हामी जोडिनुपर्छ,’ उनले भने, ‘यसका लागि कनेक्टिभिटी आवश्यक छ, यहि प्राथमिकतामा छ ।’
उनले विहारको रक्सौलदेखि काठमाडौंसम्म जोड्ने तयारी रहेको बताए । नेपाल जलमार्गदेखि समुद्रसम्म चाँडै जोडिने उनले घोषणा गरे । कृषिको क्षेत्रमा साझेदारीको घोषणा भएको उल्लेख गर्दै उनले ओलीको भारत भ्रमणका बेलाको सम्झौता कार्यान्वयन हुने बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ०८:३२