सूचनाको शक्ति - The Power Of Information

        

भारतीय प्रधानमन्त्रीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने


काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीमा २० मीनेटसम्म सवारी रोकिने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १.३० बजे काठमाडौँ आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म सवारी रोकिने भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मोदी हिँड्ने रुटमा १० मिनेटदेखि २० मिनेटसम्म सवारी रोकिने गरी ट्राफिक व्यवस्थापन मिलाइएको जानकारी दिए । ‘मोदी हिँड्ने बाटोमा १० मिनेट र विपरित बाटोमा २० मिनेटसम्म सवारी रोकिनेछ, कम भन्दा कम समय लाग्ने गरी ट्राफिक व्यवस्थापन मिलाएका छौँ,’ उनले भने ।
एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने हिँड्न रोक लगाइएको छैन । दिउँसो १.३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने भारतीय प्रधानमन्त्री मोदी त्यहाँबाट बौद्धस्थित ह्यात होटल प्रस्थान गर्नेछन् । दिउँसो ४ बजे गार्ड अफ अनरका लागि टुँडिखेल प्रस्थान गर्ने क्रममा चाबहिल, गौशाला, एरपोर्ट, बानेश्वरलगायतका क्षेत्रमा सवारी आगमन रोकिनेछन् ।
दिउँसो ४.३५ मा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न बहादुर भवन कान्तिपथ र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने क्रममा जमल लैनचौर महाराजगन्ज हुँदै बूढानीलकण्ठ चल्ने सवारी रोकिनेछन् । बेलुका ६ बजे विभिन्न दलका नेतालाई भेट्न द्वारिका होटल पुग्ने क्रममा महाराजगञ्ज, चाबहिल, गौशालामा चल्ने सवारी साधन प्रभावित हुनेछन् ।
शनिबार मुक्तिनाथ जान लागेका मोदी बिहान ६ बजे चाबहिल गौशालाका सवारी आगमनमा समस्या पर्नेछ भने मुक्तिनाथ दर्शन गरेर फर्केपछि पशुपतिको दर्शन गर्न जाँदा सोही क्षेत्रमा सवारी आगमनमा समस्या पर्नेछ । शनिबार दिउँसो नागरिक अभिनन्दमा सहभागी हुन राष्ट्रियसभा गृह जाने क्रममा चाबहिल, महाराजगञ्ज, लैनचौरको सवारी आगमन प्रभावित हुनेछन् भने दिउँसो स्वदेश फर्कने क्रममा बानेश्वर तीनकुने हुँदै सिनामंगलको सवारी आगमन केहि बेरका लागि प्रभावित हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ०६:१८