सूचनाको शक्ति - The Power Of Information

        

बाँके र बर्दियाको विकासका लागि दल र जनप्रतिनिधिहरु एकमत


काठमाडौं । बाँके र बर्दिया जिल्लाको समग्र बिकासका लागि जिल्लाका राजनैतिक दलका नेता र जनप्रतिनिधिहरु तथा उद्योगी व्यवसायी एंव बिकासमा चासो राख्ने अगुवा एकमत भएका छन् । काठमाडौंमा बिहिबार भएको एक भेलामा सरोकारवाला, पार्टी पदाधिकारी र जनप्रतिनिधिहरुबीच उक्त मत जाहेर भएको हो ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलसम्शेर राणाले बाँके र बर्दियाको बिकास केन्द्रको प्राथमिकतामा पार्न पहल गरिनुपर्ने बताए । राणाले भने, ‘बाँकेको राँझा बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन, जिल्लामा अन्तर्राष्ट्रिय स्तरको सभागृह र प्रदर्शन स्थलको निर्माण गर्न केन्द्रको साथ र सहयोग आवश्यक छ ।’ बाँके र बर्दियाको बिकासका लागि जिल्लाका सबै दल र प्रतिनिधिहरुको एक मत रहेको राणाले बताए ।
सांसद इस्तिहाक राईले बाँकेमा नेपालगन्ज प्राविधिक विश्वविद्यालय स्थापना गर्न पहल भइरहेको बताए । यस्तै बर्दियाका सांसद बिष्णु चौधरीले राप्ती, भादा र कर्णाली नदिले पार्ने डुवान कम गर्न एकीकृत नदि नियन्त्रण आयोजना आवश्यक रहेको बताए । राष्ट्रिय निकुञ्ज सृर्जित समस्या समाधान गर्न आवश्यक रहेको समेत सांसद चौधरीले बताए । पूर्वमन्त्री तथा बर्दियाका सांसद सञ्जय गौतमले राजापुर सिचाई आयोजना बर्दियाको बिकासको प्राथमिकतामा पारिनुपर्ने बताए ।


खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरा क्यान्सर अस्पताललाई स्तरोन्नति गरेर नेपालकै नमूना अस्पताल बनाउन केन्द्रले बजेट बिनियोजन गरिन आवश्यक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले औद्योगिक बिकासका लागि बाँके, बर्दिया रणनितिक जिल्लाका रुपमा रहेको बताइन् । राणाले बाँके बर्दियामा कृषि अनुसन्धान केन्द्र लगायत र कृषि प्राविधिक शिक्षालय लगायतका ठूला आयोजना गर्न सरकारी पहल आवश्यक रहेको औल्याइन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्षले कार्यक्रमको सुरु गर्दै प्रस्ताव टेवल गरेका थिए । नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, एमाले नेता लक्ष्मण ज्ञवाली, सांसद पूर्णाकुमारी सुवेदी, सांसदहरु नन्दलाल रोकाय, आइपी खरेल, महेश्वर गहतराज, कृष्णा केसी नमूना, तिलकराम शर्मा हिमाल, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका लगायतले बोलेका थिए ।
नेपालगन्जका मेयर धवलसम्सेर राणाले छलफलमा फरक बिषयमा आफ्नो भनाई राख्दै प्रदेश ५ को राजधानी बाँके र बर्दियाका लागि टाढा भएकोले बिकल्प सोचिन आवश्यक रहेको बताए । बाँके र बर्दियाबाट संघीय तथा प्रदेश संसदमा प्रनिनिधित्व गर्ने सांसदहरु, राजनीतिक दलका जिल्ला नेतृत्व, स्थानीय तहका प्रतिनिधि तथा बाँकेबाट काठमाडौंमा पत्रकारिता गरिरहेका पत्रकारहरुबीच उक्त छलफल आयोजना भएको थियो । छलफलले बाँके र बर्दियाका साझा मुद्दा पहिचान गरेर सरकारलाई दवाव दिने निर्णय गरेको कार्यक्रम संयोजक सृजना आचार्यले जानकारी दिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ०६:०८