सूचनाको शक्ति - The Power Of Information

        

चिटिक्क सिङ्गारियो सभागृह, सुरक्षा चुस्त


शर्मिला पाठक । काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ । सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै कम संख्यामा सवारीसाधन चलेका छन् ।
सभागृहको प्रवेशद्वारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ । सभागृहमा पनि रंग लगाइएको छ भने फूलको साजसज्जा त्यत्तिकै आकर्षक छ । यी सबै दृश्य हेर्दा लाग्छ यो हिजोको सभागृह होइन ।
त्यसैगरी, स्वागतद्वारको दायाँबायाँ प्रशस्तै संख्यामा नेपाल र भारतका झण्डा टाँगिएको छ । सभागृह मात्र होइन मोदीको स्वागतका लागि उनी नेपाल रहँदाको समयमा आउने र जाने सबै स्थान सफा र व्यवस्थित नै रहेको छ । सडकको छेउछाउमा रंग लगाउने, झण्डा राख्ने, स्वागतद्वार निर्माण गर्ने काम पनि सँगै सकिएको छ ।
विमानस्थल, गौशाला, त्रिपुरेश्वर, जमल, नयाँ बानेश्वर, कोटेश्वर, हायात होटलको आसपासलगायत प्रधानमन्त्रीले आवत जावत गर्ने स्थानमा साजसज्जाको काम पनि सकिएको छ । दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री आज नेपाल आइपुगेका छन् । प्रधानमन्त्री मोदीको स्वागतका लागि कामपाका तर्फबाट कुनै कसर बाँकी राखिएको छैन, कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

अभिनन्दनको सबै तयारी सकियो
प्रधानमन्त्री नरेन्द्र मोदीका लागि नागरिक अभिनन्दन गर्नका लागि सबै तयारी पूरा भएको कामपाले जानकारी दिएको छ । भ्रमणका लागि आज नेपाल आउनुहुने प्रधानमन्त्री आज पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको भ्रमण गर्नेछन् । त्यसपछि काठमाडौँ फर्केपछि उनी भारतीय राजदूतले आयोजना गर्ने दिवा भोजमा सहभागी भई अपराह्न कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यतालिका रहेको छ ।
आचार्यले भने, ‘सबै तयारी पूरा भएको छ, प्रधानमन्त्रीको स्वागतका लागि हामी आतुर छौँ ।’ प्रधानमन्त्री २ः४५ बजे सभागृहमा पुग्ने भएपनि कामपाले अन्य अतिथि तथा पाहुनालाई दुई बजेभित्रै हलमा राखिसक्ने समयतालिका रहेको छ । ५३२ सिट क्षमता भएको सभागृहको हलमा ५५० जनासम्म हुनसक्ने कामपाले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री दुईदिने राजकीय भ्रमणमा नेपाल आएका हुन् ।
उक्त कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, सांसद्, कामपाका जनप्रतिनिधि, कामपाका उच्च पदका कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको सहभागिता हुनेछ । कामपाका प्रमुख शाक्यले नागरिकका तर्फबाट नागरिक अभिनन्दन र महानगरका तर्फबाट कलात्मक साँचो हस्तान्तरणसँगै उपहार दिने तयारी रहेको छ । उपहार के दिने भन्ने बारे अहिलेसम्म टुङ्गो लागेको छैन । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।
यसैबीच, भारतीय प्रधानमन्त्री मोदीको दुईदिने राजकीय भ्रमणका सन्दर्भमा उनको कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० अनुसार अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि चारवटै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा योजना बनाइएको र सोही अनुसार सुरक्षा फौज परिचालन गरिएको छ ।
ती जिल्लामा सुरक्षाकर्मी अपुग भएमा केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी तत्कालै पठाइने व्यवस्था मिलाइएको पनि प्रवक्ता सुवेदीले बताए । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पर्याप्त मात्रामा परिचालित भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुने मार्गहरुमा आवश्यक ट्राफिक व्यवस्थापन भइरहेको छ । सकेसम्म छोटो मार्गबाट उनको यात्रा हुने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए ।
उनी सवार हुने मार्गमा १० मिनेटअघि मात्र सडक खाली गरिनेछ । अत्यावश्यक सवारीसाधन र एम्बुलेन्सहरुलाई भने जुनसकै समयमा आवागमन गर्न दिइनेछ । काठमाडौँमा आज बिहानैदेखि सडकमा सवारी आवागमन पातलो देखिएको छ । मुख्य स्थानहरुमा सरसफाइका साथै विभिन्न तुल, ब्यानर सजाइएको छ भने चोकचोकमा नेपाल भारतका झण्डाहरु फहराइएका छन् । धनुषाको जनकपुरका कार्यक्रमपछि भारतीय प्रधानमन्त्री मोदी काठमाडौँ आएर उच्चस्तरीय भेटघाटमा व्यस्त रहनेछन् भने शनिबार मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । रासस

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ०५:३०