काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा आफूले केही बुझ्न नसकेको बताएका छन् । बुधबार अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकताबारे आफ्नो धारणा राख्दै पूर्व अर्थमन्त्री समेत रहेका डा भट्टराईले बजेटमार्फत सबैलाई खुसी पार्न लागिएको बताए ।
यो खास समयमा प्रस्तुत हुन लागेको बजेट भएको डा भट्टराईले बताए । ’अबको बजेट हिजोको निरन्तरता होइन, क्रमभंगता हो । विकास र समृद्धिको चरण हुँदै समाजवादतिर जाने युगको यो पहिलो बजेट हो’, उनले भने, ‘तर, सुन्दै गर्दा मलाई के लाग्यो भने यसमा सबै कुरा छ तर के कुरा छ, कहाँ फोकस हो भन्ने कुराको मैलेचाहिँ भेउ पाउन सकिनँ ।’
सम्बोधनका क्रममा भट्टराईले एकजना जर्मन दार्शनिकलाई समेत उदृत गरेका थिए, ‘म तपाईंलाई सफलताको सूत्र दिन सक्दिनँ । तर, असफलताको सूत्र दिन सक्छु । त्यो के भने, सबैलाई खुसी पार्ने कोसिस गर्नुस् ।’ अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा सबै थोक छ तर कुन पहिलो हो र कुनमा जोड हो भन्ने कुरामा प्रष्टता नपाएको उनले बताए । संयुक्त सरकार भएको र फरक पृष्टभूमिबाट आएकाले अर्थमन्त्रीलाई सकस भएको हुनसक्ने भन्दै भट्टराईले सकस नमान्न आग्रह गरे ।
भट्टराईले देशमा बौद्धिकस्तर नपुगेको बताए । ‘हुन त प्रधानमन्त्रीले ब्यंग्य गरेर बुद्धिजीवी भनेका कोट काट्ने मुसाजस्ता हुन् पनि भन्नुभएको छ । हो म त्यो स्वीकार पनि गर्छु । हामी डिग्रीधारी मानिसमा अनावश्यक खालको दम्भ मात्र पालेर बस्ने, अध्ययन नगर्ने, अहिलेको जमानामा यति धेरै नलेजको फ्लो भइरहेको छ, त्यतापट्टि जाने छैन,’ उनले भने, ‘तर, धेरै वर्ष पहिले गरेका कुरा गफ लगाउने, एनजिओ र आइएनजीओका छेउ न टुप्पाको रिपोर्ट लेख्ने र आफूलाई बुद्धिजीवी कहलाउने प्रवृत्ति छ, त्यसलाई प्रधानमन्त्रीले व्यंग्य गरेको हो भने ठिकै हो । तर, बौद्धिकता, ज्ञान र विज्ञानलाई अपहेलना गर्ने चाहिँ हुँदैन । ज्ञान र विज्ञानबिना संसारमा कहीँ पनि विकास चाहिँ भएको छैन ।’
भट्टराईले शिक्षामन्त्रीलाई विश्वका उत्कृष्ट १० विश्वविद्यालयका छानिएका १० बुद्धिजीवीलाई महिनाको एक–एक करोड तलब दिएर ल्याउन आग्रह गरे । ‘महिनाको एक–एक करोड दिऊँ, वर्षमा १२ करोड हुन्छ, कुनै ठूलो कुरा होइन’, उनले भने, ‘वर्षको एक अरब कुनै ठूलो कुरा होइन । तिनीहरुलाई यहाँ बोलाऊँ । एक वर्ष यहाँ राखौं । मजस्ता बुढाखाडा हैन, ५० वर्षभन्दा कमका, अझ ४० भन्दा कमका युवालाई विभिन्न विषयमा प्रशिक्षण गराऊँ । हजार जना युवा विद्यार्थीलाई छानेर संसारका उत्कृष्ट विश्वविद्यालयमा पढ्न पठाऊँ । यसरी जनशक्ति तयार पारियो भने त्यसको जगमा समृद्धि नेपाल बन्छ । त्यतातिर फोकस हुनुपर्छ ।’
।