सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशस्तरीय विपत व्यवस्थापन तथा पूर्व तयारी केन्द्र बुटवलमा बन्दै


बुटवल । विपत ब्यवस्थापनका लागि उपयोगी हुने सामग्री भण्डारण र प्रकोप पूर्व तयारीका लागि बुटवलमा प्रदेशस्तरीय सहायता कक्ष बन्ने भएको छ । बुटवल उपमहानगरपालिका परिसरमा यो भण्डारण केन्द्र रहनेछ । विपत व्यवस्थापनका लागि तालिम प्राप्त प्राविधिकसहित अत्यावश्यक सामग्रीहरु भण्डारण गरिनेछ ।
सोही विषयमा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) का बीचमा बिहीबार सम्झौता भएको छ । उपमहानगरले विपत व्यवस्थापनका लागि आफैले योजना बनाइरहेका बेलामा यूएनएफपिएले बुटवलमै प्रदेश स्तरको भण्डारण केन्द्र स्थापनाको प्रस्ताव गरेपछि स्वागत गर्दै सम्झौता गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र यूएनएफपिएका क्रिस्टिन ब्लकहुससहितको टोलीका बीचमा बिहीबार उपमहानगरपालिकामा सम्झौता भएको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । यी दुई बीचको सम्झौताको रोहवरमा पाँच नम्वर प्रदेश सरकार रहेको छ । उक्त सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखाले प्रतिनिधित्व गरेको थियो । उक्त शाखाबाट डा. उमाशंकर चौधरी सहभागी थिए ।
सम्झौतासंगै अब बुटवलमा यूएनएफपिएले विपत व्यवस्थापनका लागि आवश्यक उद्दार सामग्रीहरुसहितका दुई ठूला कन्टेनरहरु राख्नेछ । त्यसको सबै व्यवस्थापनको जिम्मा उपमहानगरलाई हुनेछ । तीमध्ये अधिकांश सामग्रीहरु विपतका बेलामा किशोरी र महिलाहरुको उद्धार र उनीहरुका लागि लक्षित रहेका हुनेछन् ।
‘कुनै पनि विपतसंगै महिला र बालिकाहरु अर्को हिंसामा पर्ने गरेको पाइएको छ त्यसैले उनीहरुलाई आवश्यक पर्ने सामग्रीहरु धेरै हुनेछन’ यूएनएफपिएका नेपाल उप–प्रमुख क्रिस्टिन ब्लकहुसले बताइन् । उप–महानगरपालिकाको सहकार्यमा काम गर्न पाउँदा खुशी लागेको उनले बताइन् । यो संगै रेडक्रसबाट प्राविधिक तालिम दिने उच्चस्तरीय टोलीसमेत यहाँ आउने छ ।
त्यो टोलीले उपमहानगरपालिकामै रहेर विपत व्यवस्थापनको तालिमसमेत दिनेछ । यो कामको प्राविधिक सहयोगसमेत यूएनएफपिएले गर्ने भएको यूएनएफपिएका प्रतिनिधि राम थापाले जानकारी दिए । अहिले भएको सामग्री र तयारी अपूर्ण भएकाले पनि दाताहरुको खोजी गर्ने र थप योजना बनाउने गरी काम अगडि बढाएको नगरप्रमुख सुवेदीले बताए ।
सामग्रीको पूर्व भण्डारणका साथै विपद व्यवस्थापन प्राविधिक सहयोग हुने गरी दाताहरु आएको उनले बताए । सो अवसरमा उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनालसहित जनप्रतिनिधिहरु सहभागी थिए भने, युएनपिएफका प्रतिनिधी क्रिस्टिन ब्लक हुससहित राम थापा, रितेश मिस्त्री, सन्तोष क्षेत्रीलगायत सहभागी थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ११:३९