रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकामा मापदण्ड विपरीत बालगृह सञ्चालन भइरहेको छ । नगरपालिका–१ बागबजारमा ‘नरसिङ हिमालय अनाथ’ नामको बालगृह न्यूनतम मापदण्ड पनि पुरा नगरेर सञ्चालन भइरहेको हो । बालगृह सञ्चालका लागि न्युनतम मापदण्ड पनि पुरा नगरेको जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले बताए ।
मापदण्ड पुरा गरेर बालगृह सञ्चालन गर्न मुसिकोट नगरपालिकाले पटक–पटक निर्देशन दिंदा पनि अटेर गरेको उनको भनाइ छ । बालगृह सञ्चालनका लागि दर्ता नै नगरेको आधारभुत भौतिक पूर्वाधार नभएको, बालबालिकालाई खुवाइने खाना गुणस्तरीय नभएको, सरसफाई तथा बसाइको राम्रो व्यवस्था नभएको उनको भनाइ थियो ।
साथै बालगृह कसरी सञ्चालन भएको छ र यसको आयस्रोत के हो ? भन्नेसमेत नखुलेको मुसिकोट नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनार केसीले बताए । बालगृह सञ्चालक बिवेक बुढाले आफुहरुले दिएको निर्देशनलाई पनि अटेर गरेकाले कानुनी कार्बाही गरिने अधिकृत ओलीले बताए । बालगृहमा अहिले ३३ बालबालिका छन् ।
बालगृहमा आमाबाबु नभएका टुहुरा बालबालिकालाई राख्नुपर्ने कानूनी व्यवस्था भएपनि २९ ती बालबालिकाका आमाबाबु रहेको उनले जानकारी दिए । बालगृह सञ्चालकले यो भन्दा केहि वर्ष पहिले रुकुम पूर्वको तकसेरामा पनि मापदण्ड पुरा नगरी सञ्चालित बालगृहबाट बालबालिका जिल्ला बाहिर लैजाँदै गर्दा केहि बर्ष पहिले प्रहरीले नियन्त्रणमा लिएको थियो ।
।