सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक प्रहरीद्वारा नौ महिनामा ७१ लाख राजस्व संकलन


बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको नौ महिनामा झण्डै ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत साउनदेखि चैत महिनासम्म ट्राफिक प्रहरीले ७१ लाख ३ हजार ५०० राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले सबैभन्दा कम साउन महिनामा २ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ भने सबैभन्दा धेरै चैत महिनामा १० लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार भदौंमा ८ लाख ६२ हजार ५००, असोजमा ८ लाख, कात्तिकमा ८ लाख २२ हजार ५००, मंसिरमा ५ लाख ४२ हजार, पुसमा ८ लाख ३४ हजार ५००, माघमा ९ लाख १९ हजार र फागुनमा ९ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै सो अवधीमा ट्राफिक प्रहरीले १२ हजार ७०० सवारी साधनलाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७१/०७२ मा १३ हजार ९९६ सवारी साधनलाई कारबाही गरेको छ भने २९ लाख ४० हजार राजस्व संकलन गरेको छ । त्यस्तै २०७२/०७३ मा १२ हजार ४३६ सवारी साधनलाई कारबाही र ३६ लाख ३३ हजार ५० राजस्व संकलन गरेको छ भने २०७३/०७४ मा ११ हजार ७३१ सवारीसाधनलाई कारबाही रु ६३ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । गत तीन आर्थिक वर्षलाई तुलना गर्दा २०७१/०७२ मा सवारी कारबाही उच्च देखिएको छ भने २०७३/०७४ मा राजस्व संकलन उच्च देखिएको छ । आर्थिक वर्ष २०७४/०७५ सकिन दुई महिनामात्रै बाँकी रहँदा गत तीन आर्थिक वर्षको तुलनामा सवारी कारबाही र राजस्व संकलनमा उच्च वृद्धि हुने देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरिक्षक होमबहादुर थापाका अनुसार बर्षातको सिजनमा कम सवारी चल्ने भएका कारण असार साउन महिनामा सवारी कारबाही र राजस्व कम देखिने गरेको छ । प्रहरी निरिक्षक थापाले भने, ‘मानिसको आवतजावत कम हुने, मालबाहक गाडीको चाप पनि कम हुन्छ । जसका कारण कारबाही संख्या र राजस्व असुली कम देखिन्छ ।’
गत तीन आर्थिक वर्षको सवारी कारबाही संख्या क्रमश घटिरहेको देखिन्छ भने राजस्व संकलनमा भने उच्च वृद्धि भएको देखिन्छ । प्रहरी निरिक्षक थापाले भन्छन्, ‘नियमित चेकजाँच र सचेतनाका कारण सवारी कारबाहीको संख्या घटेको छ । हामीले सचेनतासँगै नियमित चेकिङ्ग गरिरहेका छौं, जसका कारण नागरिकहरुमा सचेतना पनि बढेको छ ।’ उनका अनुसार राजस्व संकलनमा भने पहिलेको तुलनामा उच्च वृद्धि भएको छ ।
‘विगतमा न्यूनतम २५ रुपैयाँदेखि २०० रुपैयाँसम्म मात्रै राजस्व काट्न मिल्थ्यो । कस्तो खालको घटना भयो त्यसको आधारमा न्यूनतम ५०० देखि १ हजार ५०० रुपैयाँसम्म राजस्व उठाउन मिल्छ,’ प्रहरी निरिक्षक थापाले भने, ‘जरिवाना रकम बढ्दा राजस्व संकलनमा उच्च वृद्धि भएको छ भने सवारी कारबाहीको संख्या घटेको छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा १७२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ भने २१६ जना घाइते भएका छन् । त्यस्तै गत तीन आर्थिक वर्षमा १५५ वटा सवारी दुर्घटना भएका छन् भने ७८ जनाको मृत्यु भएको र २१८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा भएका दुर्घटनाको अनुपात उच्च देखिएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ०९:०१