सूचनाको शक्ति - The Power Of Information

        

बजार नबुुझ्दा फाइदा लिन सक्दैनन् किसान

ललितपुर । बजारको मागअनुसार उत्पादन दिन नसक्दा किसानले तरकारीखेतीबाट पर्याप्त आम्दानी लिन सकेका छैनन् । नेपाल कृषि अनुसन्धान परिसद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशी अधिकांश किसानलाई बजारको ज्ञान नभएको बताउँछन् ।
परम्परागत रुपमा खेती गर्दै आएका किसान बजारको मागअनुसारको फलाउने भन्दा पनि आफूसँग जे फलेको छ त्यही बजारमा बिक्रीका लागि लैजाने गर्छन् । उनी भन्छन्, ‘बजारमा माग नै नभएको कुरा लैजाँदा त्यो बिक्दैन वा कम मूल्यमा बिक्छ ।’ तरकारीको माग ठूला शहरमा मात्रै नभएर भर्खरै नगरपालिका बनेका नयाँ शहरमा समेत छ ।
कुन ठाउँमा कुन तरकारीको आवश्यकता छ त्यही फलाउँदामात्रै किसानले पर्याप्त आम्दानी लिन सक्ने जोशी बताउँछन् । उनी भन्छन्, ‘बजारको आवश्यकताअनुसार फलाउँदा किसानले थोरै समयमा धेरै आम्दानी लिन सक्छन् ।’ विदेश बसेर आएका वा नेपालमा नै अध्ययन सकेर व्यावसायिक तरकारी खेतीमा लागेका युवा किसानको संख्या बढ्दै छ ।
उनीहरुले आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो लगानीमा धेरै क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन् । उनी भन्छन्, ‘हामीले हेर्दा ठूलो क्षेत्रफलमा र प्रविधिको प्रयोग गर्ने किसानले बढी फाइदा लिइरहेका छन् ।’ विशेष गरेर काठमाडौँ उपत्यका र त्यस आसपासका जिल्लामा व्यावसायिक तरकारीखेती गर्नेको संख्या बढ्दैगएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ०८:४१