सूचनाको शक्ति - The Power Of Information

        

भारतीय एआईजीसहित सुरक्षाफोर्स मुक्तिनाथ पुग्दै

काठमाडौं । भारतीय प्रधानबमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेपाल भ्रमणका क्रममा हुने मुक्तिनाथ यात्रालाई लक्षित गरी सुरक्षा प्रबन्धको कार्ययोजना तयार पार्न भारतीय एआईजीसहित १५ जनाको टोली मुस्ताङतर्फ हिँडेको छ । पोखराबाट बिहान हिडेको टोलीमा ४ जना भारतीय एआईजीसहित सुरक्षाफोर्स सामेल छन् ।
उनीहरु साँझसम्म जोमसोम पुग्ने जनाइएको छ । मोदीको भ्रमणलाई व्यवस्थित गर्न सुरक्षा फोर्सले विहीवार जिल्लाका सरोकारवाला निकायसँग उच्चस्तरीय छलफल गर्ने कार्ययोजना पनि रहेको छ । त्यस्तै मोदीलाई कुन–कुन तहका व्यक्तिले नागरिक अभिनन्दन गर्ने भन्ने टुङ्गो पनि लगाइने छ ।
मोदीको भ्रमण अविधिभर मुक्तिनाथ परिसरमै रहेर टोलीले सुरक्षा प्रदान गर्नेछन् । यसका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने छन् । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण अवधिभर मनाङदेखि मुस्ताङसम्मको सडक अवरुद्ध हुने भएपछि अन्नपूर्ण यात्रुको सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।
जिल्ला सुरक्षा समितिले मोदीको भ्रमण व्यवस्थित बनाउँदै पर्यटक र तीर्थयात्रीका लागि वैकल्पिक बाटोको व्यवस्था गरेको हो । मोदी भ्रमणको समयमा पदयात्रीले मनाङदेखि मुस्ताङको आवतजावत गर्न मुक्तिनाथ क्षेत्र बाहिरको वैकल्पिक बाटो छेङ्गुर, झोङ र पुडाकको बाटो प्रयोग गर्नुपर्नेछ । सर्वसाधारणलाई भने २० घण्टासम्म मुक्तिनाथ क्षेत्रमा प्रवेश रोक लगाइनेछ ।
जसअनुसार मुक्तिनाथ आउने तीर्थालुले बैशाख २८ गते साँझ ४ बजेदेखि बैशाख २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिक्षेत्र प्रवेश गर्न पाउने छैनन् । यसैबीच जनकपुरमा आएको हावाहुरीले क्षति पु¥याएको भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वार फेरि बनाउन थालिएको छ । मोदीको स्वागतका लागि जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढालेका थिए ।
रामजानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार आज बिहान साढे ३ बजेतिर आएको हावाहुरीले ढालेको हो । हावाहुरीसँगै आएको पानीले रंगभूमि मैदानमा पानी जमेको छ । भाँचिएको बाँस कपडाले निर्मित स्वागत गेट हटाएर फेरि नयाँ स्वागत गेट निर्माण गर्न थालिएको हो । नागरिक अभिनन्दन स्थल रंगभूमि मैदान र बाटोमा जमेको पानी सुकाइदै छ ।
सरसफाईमा निजी विद्यालयका शैक्षिक संगठन पनि परिचालन गरिएको छ । हावाहुरीले किसानले लगाएको फलफूल तथा तरकारी खेती पनि नष्ट गरेको छ । धनुषासँगै महोत्तरीमा आएको हावाहुरीले आँपमा क्षति पुगेको छ । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित छन् । महोत्तरीमा धेरै घरको छानो उडाएको र रुख ढालेको जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ०६:१५