सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीको विकासमा सरकार गम्भीर छ – प्रधानमन्त्री ओली

काठमाडौं । सरकार कर्णाली प्रदेशको विकासका लागि गम्भीर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । आज बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधिकातर्फबाट प्रस्तुत ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सो कुरा बताएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालालगायतको समूहले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा भौतिक पूर्वाधार, हवाई यातायात, सिँचाइ, ऊर्जा तथा विद्युतीकरण, सञ्चार, बस्ती विकास तथा पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलगायतका क्षेत्रमा बजेट विनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मूलधारमा ल्याउन यथाशक्य बजेट विनियोजन गर्ने आश्वासनसमेत दिए । ज्ञापनपत्र प्रस्तुत गरेपछि मुख्यमन्त्री शाहीले सरकारको आगामी नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको विकासका लागि रणनीतिक महत्व राख्ने सडक र पूर्वाधार निर्माणका लागि विशेष बजेटको व्यवस्था गर्न आग्रह गरिएको सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार १५:४७