सूचनाको शक्ति - The Power Of Information

        

सुविधा बढी र भाडा कम प्रस्ताव गर्नुपर्ने


काठमाडौं । सरकारले यातायात क्षेत्रलाई व्यवस्थित, प्रभावकारी र जनमैत्री बनाउने लक्ष्यका साथ कम भाडा प्रस्ताव गर्ने कम्पनीलाई रुट इजाजत दिने भएको छ । बढी सेवा सुविधा दिने र कम भाडा दर प्रस्ताव गर्नेलाई रुट इजाजत दिने तयारी गरिएको हो ।
यात्रुलाई मनलाग्दी भाडा लिने गरेको, बढी यात्रु भीड हुने समयमा जबरजस्तै कोच्ने गरेको, सानो सवारीमा समेत धेरै यात्रु राख्ने गरेको तथा काठमाडौंको सवारी यात्रा कस्टकर भएकाले त्यसलाई नियन्त्रण र नियमन गर्ने लक्ष्यका साथ कम भाडादर प्रस्ताव गर्ने यातायात कम्पनी तथा सवारीधनीलाई मात्रै रुट इजाजत दिने तयारी गरिएको हो ।
यातायात व्यवस्था विभागले गरेको तयारीअनुसार अब कुनै पनि रुटमा मनलाग्दी इजाजत दिइने छैन । उनीहरुले प्रदान गर्ने सेवा तथा सुविधाका आधारमा मात्रै रुट इजाजत दिने तयारी गरिएको छ । प्रतिस्पर्धाका आधारमा मात्र रुट इजाजत दिने गरी तयारी गरिएको विभागले जनाएको छ । कम भाडादर प्रस्ताव गर्ने, बढीभन्दा बढी सेवा दिने तथा यात्रुमैत्री व्यवहार गर्ने यातायात कम्पनीबीच प्रतिस्पर्धा गराउने तयारी विभाग लागेको छ ।
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले कम्पनीबीच प्रतिस्पर्धा गराउन विभागलाई पत्राचार गरेको छ । कुनै पनि सवारीले यात्रुसँग बढी भाडा लिन नपाउनु, भेडा बाख्रा कोचे जसरी यात्रु कोचेर लैजान नपाउने भन्ने ध्येयका साथ प्रतिस्पर्धा गराउन लागिएको जनाइएको छ । बढी सुविधा दिने र कम भाडा तोक्ने कम्पनीलाई रुट इजाजत दिए पनि एकै रुटमा एकभन्दा बढी कम्पनी तथा तिनका सवारीलाई रुट इजाजत दिने तयारी गरिएको छ ।
एकै रुटमा एउटालाई मात्रै इजाजत दिँदा अर्को खालको सिन्डिकेट पुनः कायम रहने भन्दै विभागले एकभन्दा बढी कम्पनीलाई रुट इजाजत दिन लागिएको हो । यातायात व्यवस्था विभागमा निर्देशक तुलसीराम अर्यालले अब प्रतिस्पर्धाका आधारमा कम भाडा लिने र बढी सुविधा दिनेलाई रुट इजाजत दिने तयारी गरिएको बताए । उनले भने, ‘अब मनलाग्दी तवरले कुनै पनि रुटमा कोही कसैले पनि सवारी साधन चलाउन पाउने छैनन्, सबै रुटमा सरकारले प्रतिस्पर्धात्मक प्रणालीलाई विशेष रणनीतिका साथ लागू गर्छ ।

रातको समयमा बढी भाडा लिन सकिने
राती ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी चलाउने कम्पनीलाई दिउँसोको भन्दा केही प्रतिशतमात्रै बढी भाडा लिन पाउने गरी प्रतिस्पर्धा गर्न लागिएको हो । दिउँसो न्यूनतम भाडा १३ रुपैयाँ रहेको जस्तै रातको समयमा न्यूनतम भाडा १५ रुपैयाँ वा यस्तै कायम गरी भाडादर समेत तय गरिने छ । रातको समयमा काठमाडौं उपत्यकामा सवारी नपाएर यात्रु महँगो रकम तिरेर ट्याक्सीमा यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सो रणनीति अगाडि सारिएको हो ।
रातको समयमा प्रमुख रुटहरुमा सवारी चलाउनुपर्नेछ । त्यसका लागि निर्दे्शिका समेत बनाइनेछ । यात्रुलाई सहज र सरल रुपमा सेवा दिन तयार हुने कम्पनीलाई मात्रै रुट इजाजत दिने, उनीहरुको गतिविधिको समेत सुक्षम अध्ययन तथा अनुसन्धान गरिनेछ । रातको समयमा सवारीमा नै लुटपाट तथा चोरी हुने अवस्थालाई समेत ख्याल गरिनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०६:५०