सूचनाको शक्ति - The Power Of Information

        

गलत सुताइ र त्यसले निम्त्याउने समस्या

काठमाडौं । स्वस्थ शरीरका लागि निद्रा आवश्यक छ । निद्रा जति गहिरो भयो त्यति नै धेरै स्वस्थ रहन मद्दत गर्छ । स्वस्थ शरीरका लागि गहिरो निद्रा मात्र पर्याप्त छैन, त्यसमा सुत्ने पोजिसनको पनि महत्वपूर्ण भूमिका हुन्छ । गलत तरिकाको सुताइले विभिन्न समस्या हुने गर्छन् ।
प्रायः सबै मानिस रातीको समयमा एउटै पोजिसनमा सुत्ने गर्छन् । एउटै पोजिसनमा सुत्दा त्यसले स्वास्थ्यमा के असर पर्छ भन्ने कुरा धेरैले महसुस गरेका हुँदैनन् । जब कि कैयौं शारीरिक समस्या गलत सुताइकै कारण निम्तने गर्छ ।
विभिन्न अध्ययनलाई आधार मान्ने हो भने करिब ९५ प्रतिशत मानिस एउटै पोजिसनमा सुत्ने गर्छन् । सुताइमा गरिने थोरै फेरबदलले मात्र पनि छातीको जलन, अल्जाइमर तथा पार्किन्सन्सजस्ता रोगबाट जोगिन सकिने कुरा बेलायतमा गरिएको एक अध्ययनले जनाएको छ ।

छाती पोल्ने समस्या
गलत तरिकाको सुताइले छातीमा जलन तथा एसिडीटीको समस्या पैदा हुनसक्छ । विशेषगरी, सुत्नुभन्दा करिब २–३ घण्टा अघि चिल्लो, पीरो खानेकुराको सेवन तथा खाए लगत्तै सुत्नाले पनि यस्तो समस्या उत्पन्न हुने गर्दछ ।
यसबाट बच्नका लागि खाए लगत्तै दायाँतर्फ फर्केर सुत्नुपर्छ । पाचन प्रक्रियामा बाधा उत्पन्न नहोस् भन्नका लागि सिरानीमा अग्लो तकिया राख्नुपर्छ । दाहिनेतर्फ कोल्टे परेर सुत्ने, दुवै हातलाई आरामदायी मुद्रामा राख्ने र दुवै घुँडालाई हल्का मोडेर पनि छाती पोल्ने समस्यामा आराम पाउन सकिन्छ ।

ढाडको समस्या
आधुनिक जीवनशैलीका कारण झण्डै ४० प्रतिशत व्यक्ति ढाड सम्बन्धी समस्याबाट ग्रसित छन् । गलत तरिकाको सुताइले पनि यो समस्या बढ्ने गरेको पाइन्छ । यस्ता समस्याबाट राहत पाउन ढाडको हड्डीलाई सीधा राख्न जरुरी छ । घुँडालाई हल्का मोडेर त्यसको बीचमा तकिया राखेर पनि ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।

रुघाखोकी, साइनस
सुत्ने तरिकालाई ठीक पारेर पनि रुघाखोकी तथा साइनसबाट राहत पाउन सकिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । हो, सही तरिकाले सुतेर पनि यस्ता समस्या कम गर्न सकिन्छ । रुघाखोकी वा साइनसको समस्या घोप्टो परेर सुत्दा (पेटतिर फर्केर) झनैबढ्न सक्छ । उत्तानो परेर (ढाडलाई तल पारेर सुत्ने) सुत्दा भने यो समस्याबाट राहत पाउन सकिन्छ । यसका लागि टाउको मुनि दुई वा तीनवटा तकिया राख्न सकिन्छ, ता कि टाउको शरीरभन्दा माथि रहोस् । यसले रुघाखोकीका कारणहुने समस्या कम हुन्छ ।

काँध दुख्ने समस्या
हरेक पटक एउटै पोजिसनमा सुत्ने बानीले काँध दुख्ने समस्या उत्पन्न हुन्छ । एकैतिर फर्केर सुत्दा काँध दुख्ने समस्या भएमा अर्कोतर्फ फर्केर सुत्नुपर्छ । त्यसबाहेक, दुईटा घुँडाको बीचमा तकिया राखेर तथा उत्तानो परेर सुते पनि यो समस्यामा राहत पाउन सकिन्छ ।

महिनावारी
महिनावारी हुँदा महिलाहरूलाई कम्मर तथा ढाडमा असह्य पीडा हुने गर्दछ । गलत तरिकाले सुतेको खण्डमा पनि यो समस्या बढ्न सक्छ । यसबाट बच्न ढाडलाई तल पारेर सुत्नुपर्छ । घुँडामुनि तकिया राख्नुपर्छ । त्यसो गर्दा ढाडको हड्डी सीधा हुनु जरुरी छ ।

कम्मरको दुखाइ
युवाहरूमा कम्मर दुख्नु सामान्य समस्या हो । लामो समय एउटै पोजिसनमा सुत्ने बानी, दिनभर एउटै पोजिसनमा लामो समय बस्ने बानी तथा लामो समयसम्म पैदल हिँड्ने बानीले पनि यो समस्या बढ्ने गर्छ । उत्तानो सुतेर तथा सुत्दा दुईटा खुट्टाको बीचमा तकिया राखेर सुत्नाले पनि यो समस्याबाट राहत पाउन सकिन्छ ।

दाँत किट्ने समस्या
एक अध्ययनले जनाए अनुसार विश्वका झन्डै आठ प्रतिशत मानिस निदाएका बेलादाँत किट्ने गर्छन् । तनाव, चिन्ता तथा स्वास्थ्य सम्बन्धी अन्य समस्याका कारण पनि धेरैले दाँत किट्ने गर्छन् । सुत्दा दात किट्नु, दाँत र गिजा दुवैको लागि हानिकारक छ । यसले स्वास्थ्यमा मात्र नभई अनुहारको बनावटमा समेत असर पार्छ ।
अनुहारमा असर नपुगोस् भन्नका लागि पनि सही तरिकाले सुत्न जरुरी छ । ढाडलाई तल फर्काएर सुतेमा तल्लो गिजा आफ्नो स्वाभाविक ठाउँमा बस्ने गर्छ र अनुहारको मांसपेशीलाई आराम हुने गर्छ । ढाडलाई तल फर्काएर सुत्दा ओठ बन्द गर्ने, दाँतको बीचमा ग्याप राख्ने तथा टाउको र हातलाई सीधा राखेर सुत्नु पर्छ ।

गर्धन अररिने समस्या
गलत तरिकाको सुतेमा गदन दुख्ने तथा अररिने गर्छ । यस्तो समस्या भएमा उत्तानो परेर वा ढाडलाई तल पारेर सुत्नु पर्छ । साथै गर्धनलाई सीधा राख्नुपर्छ ।

घुर्ने समस्या
अधिकांश मानिसहरू सुत्दा घुर्ने गर्छन् । गलत तरिकाले सुतेका कारण पनि यस्तो भएको हुनसक्छ । सुत्ने तरिकामा गरिने थोरै फेरबदलले पनि घुर्ने समस्या निकै हदसम्म कम हुनसक्छ । घुर्ने समस्या कम गर्ने सबैभन्दा राम्रो उपाय भनेको पेट थिचेर सुत्नु हो । –एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०६:४०