सूचनाको शक्ति - The Power Of Information

        

गाडी खरिदमा भन्सार छुट पाउनुपर्छ : प्रदेश सभा सदस्यहरु


रेनुका गिरी । बुटवल । प्रदेश पाँचका प्रदेश सभा सदस्यहरुले आफूहरुले गाडी खरिदमा भन्सार छुट पाउनुपर्ने माग गरेका छन् । मंलगबारको बैठकमा प्रदेश सभा सदस्यहरुले आफूहरुले पाउने सेवा सुविधा पर्याप्त नभएको गुनासो समेत गरेका छन् । सांसदहरुले चाडपर्व खर्च, उपचार खर्चको व्यवस्था हुनुपर्ने, निजी सचिव राख्न पाउनुपर्ने माग पनि गरेका छन् ।
बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विध्येक र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विध्येकमाथि छुट्टाछुट्टै छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्यहरुको मर्यादाक्रम पनि नमिलेको भन्दै मिलाउन माग गरेका छन् ।
उनीहरुले मर्यादाक्रम अनुसार सेवा सुविधा तोक्नुपर्ने माग गरे । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले मर्यादाक्रमबारे आफूलाई पनि चित्त नबुझेको र पटक पटक प्रधानमन्त्रीलाई भनेको जानकारी दिए । उनले सेवा सुविधा तोक्दा जनताको मनोविज्ञानलाई पनि ख्याल गर्नुपर्ने बताए ।
दुवै विधेयक दफावर छलफलका लागि विधायन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत भएको छ । त्यस्तै प्रदेश नं ५ अन्तरगतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित विधायन समितिको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०५:२८