सूचनाको शक्ति - The Power Of Information

        

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन


बैतडी । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा पुगेपछि बैतडीका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका हुन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनि शैक्षिक सत्र २०७५ देखि केही विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिकाको वडा नं ३, श्रीकोटमा रहेका दुई सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो । खोचलेकमा रहेको सनातन धर्म मावि र खिरेगाउँमा रहेको केदारनाथ आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएको सम्बन्धित विद्यालयले जनाएका छन् ।
सनातन धर्म मावि, खोचलेकमा कक्षा १ देखि ३ सम्म र केदारनाथ आधारभूत विद्यालयमा बालविकास र कक्षा १ मा यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो । आधुनिक युग सुहाउँदो शिक्षाको आवश्यकता रहेकाले अंग्रेजी भाषाको पठनपाठन शुरु गरिएको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए ।समयानुकूल शिक्षा प्रदान गर्नका लागि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको उनले बताए ।

पछिल्लो समय देखासिकीको आधारमा निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो र बसाइँ सरेर तराई जानेक्रम बढी भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन् । बैतडीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर विद्यार्थीको संख्या घट्दै गएको छ ।

यस्तै, गत शैक्षिक सत्रसम्ममा विद्यार्थी संख्या न्यून भएको केदारनाथ आधारभूत विद्यालयमा विद्यार्थीको संख्या बढाउन अंग्रेजी माध्यमबाट पठनपाठन गरेको प्रधानाध्यापक शंकरराम ओडले जानकारी दिए । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन अंग्रेजी माध्यमबाट पढाइ गर्दा विद्यार्थी संख्या बढ्ने उनको भनाइ रहेको छ । सनातन धर्म मावि विसं २०१७ मा स्थापना भएको हो भने केदारनाथ आधारभूत विद्यालय विसं २०४३ मा स्थापना गरिएको हो ।
पछिल्लो समय देखासिकीको आधारमा निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो र बसाइँ सरेर तराई जानेक्रम बढी भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन् । बैतडीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर विद्यार्थीको संख्या घट्दै गएको छ ।
सरकारले अर्बौं रुपैयाँ लगानी तथा खर्च गरेर सामुदायिक विद्यालय सञ्चालन गरिरहे पनि स्तर घट्दै गएकाले पढाइको गुणस्तरमा सुधार ल्याउन आवश्यक रहेको जानकारको भनाइ रहेको छ । सामुदायिक विद्यालयको स्तर खस्किँदै गएपछि विद्यार्थीको आकर्षण निजी विद्यालयमा आकर्षित हुन थालेको छ । पढाइ पनि गुणस्तरीय हुने भन्दै अभिभावकको रोजाइ निजी विद्यालयमा जान थालेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०५:००