काठमाडौं । गाउँमा गएर विपन्न वर्गमा ऋण लगानी गर्ने उद्देश्यले खुलेका लघुवित्त संस्थाहरुको नाफामा निरन्तर गिरावट देखिन थालेको छ । चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा वित्तीय विवरण सार्वजनिक गर्ने २४ वटा वित्तीय संस्थाको नाफा औषतमा ७ प्रतिशतले घटेको छ ।
२४ मध्ये १३ वटा कम्पनीको नाफा घटेको छ । नाफा घट्नुको प्रमुख कारण लघुवित्तले महँगो ब्याजमा बैंक तथा वित्तीय संस्थाबाट पैसा उठाएर १८ प्रतिशतमा लगानी गर्नु हो । निक्षेप नै संकलन गर्न पाउने अधिकार पाएका संस्थाले पनि त्यसका लागि महँगो ब्याज खर्चिनु परेको छ ।
लघुवित्त एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशीले महँगोमा लिएको पैसालाई १८ प्रतिशतको सीमाभित्र बसेर लगानी गर्दा नाफा घटेको बताए । साना किसान विकास बैंकका मुख्य प्रवन्धक कृष्णप्रसाद लामिछानेका अनुसार, गत बर्ष लगानी गर्ने पैसा ४ प्रतिशत हाराहारीमा पाइएको थियो । यसपाली ११ प्रतिशत पुगेको छ ।
‘यसले गर्दा ब्याज खर्च १७५ प्रतिशतले बढेको छ’ उनले भने, ‘लगानी गर्ने ब्याजमा सीमा छ । त्यसैले खर्च बढ्दा नाफमा संकुचन आएको हो ।’ चैतसम्म ज–जसले नाफा बढाएका छन् उनीहरुको बृद्धि दर पनि सन्तोषजनक छैन । राष्ट्र बैंकले स्प्रेड दर र अधिकतम ब्याज दर दुबै तोकेका कारण वित्तीय संस्थाको नाफामा गिरावट आएको जोशीले बताए ।
‘स्प्रेड दर ५ प्रतिशत नघाउन पाइँदैन भने अधिकतम ब्याज दरको सीमा १८ प्रतिशत तोकिएको छ,’ उनले भने, ‘अनित त नाफामा संकुचन आइहाल्छ नि ।’ बैंकहरुको आधार व्याज दर १२ प्रतिशत छ । त्यसमा व्यवस्थापन खर्च जोडेर लघुवित्तले कर्जा सापटी पाउँछन् । महँगोमा लिएको पैसा आफ्नो व्यवस्थापन खर्च जोडेर लगानी गर्नुपर्छ । यसले गर्दा खर्च नै चल्न गाह्रो परिसकेको उनले बताए । उनले ब्याज दरमा सीमा तोक्न नहुने बताए ।
।