सूचनाको शक्ति - The Power Of Information

        

बीउ अनुदानको खर्च ७ लाख, ३२ लाख मौज्दात

दाङ । जिल्लाका किसानलाई सहुलियत अनुदान तथा व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले उपलब्ध गराएको रु ३९ लाखमध्ये रु सात लाखमात्र अनुदानको बीउ उपलब्ध गराउन खर्च भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माका अनुसार सो शीर्षकमा रु ३२ लाख मौज्दात छ ।
नयाँ संरचनाअनुसार कृषि कार्यालय मातहतका सबै सेवाकेन्द्र स्थानीय तहमा गाभिएपछि पनि सरकारले सहुलियतमा किसानलाई बीउ उपलब्ध गराउन कृषि कार्यालयलाई उक्त रकम उपलब्ध गराएको हो । ‘किसानको मागअनुसार सम्बन्धित स्थानीय तहमा अनुदानको बीउ उपलब्ध गराउँदै आएका छौँ,’ उनले भने, ‘स्थानीय तहमा माग भए, अझै पनि मकै र धानको उन्नत जातको बीउ उपलब्ध गराउन सकिन्छ ।’
कार्यालयले सबै स्थानीय तहमा मागअनुसार, गहुँ, मसुरो, मकै र धानका उन्नत जातका बीउ उपलब्ध गराइरहेको छ । किसानलाई ५० प्रतिशत सहुलियत दरमा बीउ उपलब्ध गराउँदै आएको छ । स्थानीय बीउ उत्पादक सहकारी संस्थाले उत्पादन गरेका उन्नत जातका बीउ खरिद गरी किसानलाई सहुलियत दरमा बिक्री गरिँदै आएको छ । अहिले स्थानीय तहका कृषि शाखा कार्यालयमार्फत रामपुर कम्पोजिट जातको पहेँलो मकैको बीउ प्रतिकिलो रु ४० मा किसानलाई उपलब्ध गराइँदै आएको छ ।
विभिन्न जातका धानका बीउ स्थानीय तहका कृषि शाखामार्फत उपलब्ध गराइने शर्माले बताए । अहिले सबै तहमार्फत बीउकोे माग संकलन भइरहेको छ । कार्यालयले व्यक्तिगत तथा समूहगत रुपमा फलफूल खेती गर्ने किसानलाई फलफूलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउने जनाएको छ । आँप, लिची, केरा लगायत फलफूलका बिरुवाको माग स्थानीय तहमार्फत संकलन भइरहेको छ । दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात गाउँपालिका मातहतका कृषि विकास शाखामार्फत उपलब्ध गराइने गरी मागअनुसार बीउ उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ ।

तुलसीपुरमा २० क्विन्टल मकै
तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले जिल्ला कृषि विकास कार्यालयबाट करीब २० क्विन्टल रामपुर डिपोजिट जातको मकैको बीउ पहिलो चरणमा किसानलाई अनुदानस्वरुप उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म करीब १४ क्विन्टल बीउ वितरण भइसकेको छ । ‘छ क्विन्टल बीउ जिल्ला कृषि विकास कार्यालयबाट ल्याइनेछ,’ शाखा कार्यालय तुलसीपुरका नायब प्राविधिक सहायक चन्द्रीका घर्तीले भने ।
स्थानीय तहको बजेटबाट किसानलाई निःशुल्क रुपमा तरकारी बालीका बीउ उपलब्ध गराइएको उनले बताए । कार्यालयले २० क्विन्टल रामपुर कम्पोजिट मकै तथा करिब ४०० किसानलाई बोडी, काँक्रा, भिन्डीलगायत तरकारीका बीउ वितरण गर्ने लक्ष्य लिएको छ । समूह र व्यक्तिलाई मकै बीउ आधा अनुदानमा तथा अन्य तरकारीको बीउ निःशुल्क वितरण गरेको कार्यालयले जनाएको छ । प्रतिकिलो रु ४० मा मकैको बीउ १३० जना तथा तरकारीको बीउ ३०० किसानलाई वितरण गरिएको छ । रासस

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार ०८:५२