सूचनाको शक्ति - The Power Of Information

        

सेटिङ्गमा ढुंगा गिट्टी, ट्राफिककै आडमा ‘ओभरलोड’

ओभरलोड बोकेर गन्तव्यतर्फ जाँदै गरेको ट्याक्टर ।

ओभरलोड बोकेर गन्तव्यतर्फ जाँदै गरेको ट्याक्टर ।


काशीराम शर्मा । बाँके । पूर्वपश्चिम राजमार्ग जहाँ दैनिक सयौं गाडीहरुको ओहोरदोहोर चलिरहन्छ । लामो तथा छोटो रुटका सयौं सवारी साधनहरुले व्यस्त हुन्छ महेन्द्र राजमार्ग । राजमार्गको कोहलपुर–सम्शेरगन्ज खण्डमा सयौंकै संख्यामा मालवाहक साधनहरुको ओहोरदोहोर पनि उत्तिकै हुन्छ । सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो भइरहेको हुन्छ ।
कोहलपुर, नेपालगन्ज, खजुरा लगायतका जिल्लाका अन्य धेरै साना बजारहरुमा भौतिक निर्माणका कामहरु पनि उस्तै गतिमा अघि भइरहेका छन् । दैनिक सयौं घरहरु ठडिने क्रममा रहेका छन् । उस्तै संख्यामा साना तथा ठूला विकासे आयोजनाहरु बाँकेमा सञ्चालन भइरहेका छन् । ती घर तथा विकासे आयोजनाहरुका लागि चाहिने कच्चा पदार्थ महेन्द्र राजमार्ग हुँदै भित्रिने गर्छ ।
निर्माण कार्यका लागि कच्चा पदार्थ बोकेर दैनिक एक सय बढीको संख्यामा ट्रिपर तथा ट्याक्टरहरु महेन्द्र राजमार्ग हुँदै कोहलपुर, नेपालगन्ज लगायतका क्षेत्रमा भित्रिने गर्छन् । त्यस क्षेत्रबाट ढुवानी हुने ढुंगा, गिट्टी र वालुवा ओभरलोड भएरै भित्रिने गर्छ । उसो त राजमार्गका विभिन्न स्थानमा ट्राफिक प्रहरीको चेकिङ्ग ती ट्रिपर तथा ट्याक्टरहरुले पार गरिरहेकै हुन्छन् । तर पनि ट्राफिक प्रहरीकै आडमा ओभरलोड बोकेका गाडीहरु सहजै भित्रिन्छन् ।
‘ट्राफिक प्रहरीको राम्रै मिलेमतो छ,’ एक स्थानीयले भने, ‘ट्राफिक प्रहरीको दैनिक, साप्ताहिक र मासिक असुली चलिरहन्छ ।’ ट्राफिक प्रहरी स्रोतका अनुसार उत्तर रत्न राजमार्ग र पूर्वमा महेन्द्र राजमार्ग हुँदै ढुंगा, गिट्टी र वालुवा ओभरलोड बोकेर आउने ट्रिपर तथा ट्रयाक्टरहरुलाई सोझैं गन्तव्यमा पुग्ने व्यवस्था गरिएको छ । महेन्द्र राजमार्ग क्षेत्रबाट ओभरलोड भएर आउने ट्रिपर तथा ट्रयाक्टरहरुलाई ट्राफिक प्रहरीले कतै रोक्दैन । रोकिहाले पनि केही रकम लिएर छाडिदिन्छ ।
ओभरलोड भएर आएका ट्रिपर तथा ट्रयाक्टरहरुलाई ट्राफिक प्रहरीले उन्मुक्ति दिइरहेको छ । ट्राफिक प्रहरी स्रोतका अनुसार क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाटै ओभरलोड ट्रिपर तथा ट्रयाक्टरहरुलाई विना रसिद तोकिएको रकम लिएर छाडिदिने निर्देशन छ । ट्राफिक प्रहरी स्रोतका अनुसार राजमार्गमा राखिएका पोष्टहरुबाट मासिकरुपमा तोकिएको रकम क्षेत्रलाई बुझाउनै पर्छ । ती पोष्टहरुमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका उच्च अधिकारीहरु निकट व्यक्तिलाई खटाइन्छ ।
ट्राफिक प्रहरी स्रोतका अनुसार ओभरलोड भएर आएका ट्रिपरहरु सेटिङ्गमा सञ्चालन गरेर उनीहरुबाट मासिकरुपमा रकम असुली गरिन्छ । ट्राफिक प्रहरी स्रोतका अनुसार ओभरलोड बोकेर आउने ट्रिपर तथा ट्रयाक्टरहरुलाई कारबाही गर्न खोज्दा क्षेत्रबाट दवाव आउँछ । ट्राफिक प्रहरीले ओभरलोड ट्रिपर तथा ट्रयाक्टरहरुबाट मासिक ४५ सयदेखि १५ हजार रुपैयाँसम्म असुलिरहेको ट्रिपर चालकहरु बताउँछन् । ढुंगा, गिट्टी र वालुवा बोकेर दैनिक एक सयबढी ट्रिपर र ट्रयाक्टरहरु अधिकांश ओभरलोड भएरै भित्रिने गर्छन् । अझ विभिन्न निर्माण कम्पनीका ट्रिपरहरु पनि उस्तै संख्यामा ढुंगा, गिट्टी र वालुवा बोकेर निर्माणस्थलसम्म पुग्ने गरेका छन् । ट्राफिक प्रहरीकै संरक्षणमा बिगत लामो समयदेखि ओभरलोड ट्रिपर तथा ट्याक्टरहरु महेन्द्र राजमार्ग र रत्न राजमार्गबाट कोहलपुर हुँदै आसपासका गन्तव्यमा पुग्ने गरेका छन् । यसले क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको सेटिङ्गको ‘लाइन’ खुलेको पाइएको छ ।

ट्राफिक प्रहरीलाई रकम बुझाएर फर्किँदै गरेका ट्याक्टर चालक ।


एक जना ट्रयाक्टर चालकले भने आफूले मासिकरुपमा क्षेत्रीय ट्राफिक प्रहरीमा रकम बुझाउँदै आएको बताए । ट्रयाक्टर चालकले भने, ‘मासिकरुपमा केही रकम बुझाउँदा ओभरलोड राख्न पाइन्छ । त्यसबाट हामीलाई पनि राम्रै फाइदा हुन्छ ।’ नाम नबताउने शर्तमा अर्का एक ट्याक्टर चालकले आफुहरुले निर्माण सामाग्री ओसारपसार गर्दा ट्राफिक प्रहरीबाट निक्कै समस्या भोग्नुपरेको बताउँदा मासिकरुपमा केही रकम दिने शर्तमा ओभरलोड समेत राख्न पाइने भएपछि अहिले सहज भएको बताए ।
ट्राफिक प्रहरीकै संरक्षणमा त्यस क्षेत्रबाट खुलेआमरुपमा ओभरलोड ट्रिपर तथा ट्याक्टरहरु कोहलपुर हुँदै गन्तव्यतर्फ भित्रिने गरेको गुनासाहरु आइरहेका छन् । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले नै ‘लाइन’ दिएपछि ओभरलोड ट्रिपर तथा ट्याक्टरहरु भित्रिने क्रम हुने क्रम बढेको हो । ट्राफिक प्रहरीलाई केही रकम बुझाए पनि ओभरलोड राख्न पाइने भएपछि आफूहरुलाई घाटा नहुने एक ट्याक्टर चालकको भनाई छ ।
सडकमा ट्राफिक प्रहरीका जुनिय अधिकृतदेखि जवानसम्मको ड्युटी हुँदा ओभरलोड ट्रिपर र ट्याक्टरहरु निर्वाधरुपमा ओहोरदोहोर गरिरहेका हुन्छन् । प्रत्यक्षदर्शीहरुका अनुसार ढकेरी पार्क नजिकै विहानदेखि बेलुकासम्म ट्राफिक प्रहरीको चेकजाँच हुन्छ । ‘ओभरलोड ट्रिपर र ट्याक्टरलाई ट्राफिक प्रहरीले तोकिएको रकम लिएर छाडिदिन्छ,’ एक प्रत्यक्षदर्शीले भने, ‘ट्राफिक प्रहरीले इमान्दारितापूर्वक आफ्नो ड्युटी गरिरहेको छैन ।’
प्रत्यक्षदर्शीहरुका अनुसार ट्राफिक प्रहरीले ट्रिपर र ट्याक्टरमात्रै होइन क्षमताभन्दा बढी यात्रु बोक्ने अन्य सवारीका साधनहरुसँग पनि रसिद नकाटेरै पैसा लिने गर्छन् । ‘केहीले साप्ताहिकरुपमा एकमुष्ट रकम बुझाउँछन् भने केहीले प्रतिट्रिप अनुसार रकम बुझाउँछन्,’ स्रोतले भन्यो, ‘ओभरलोड ट्रिपर र ट्याक्टरहरु रोकिन्छन्, ट्राफिक प्रहरीसँग हात मिलाएजस्तो गरी पैसा दिन्छन् र गन्तव्यतर्फ लाग्छन् ।’ ट्राफिक प्रहरीले सो रुटमा एउटा ट्याक्टरबाट पाँच सयदेखि एक हजार रुपैयाँसम्म प्रतिट्रिप रकम असुल्ने गरेको चालकहरु बताउँछन् ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले यो कुरा गलत भएको दावी गरे । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक खड्काले ट्राफिक प्रहरीले ओभरलोड ट्रिपर र ट्याक्टरलाई कारबाही गरेका बताउँदै कसैसँग सेटिङ्ग नभएको बताए । उनले भने, ‘नियमपूर्वक हामीले चेकजाँच गर्ने गरेका छौं । नियम विपरित चल्ने सबै प्रकारका यातायातका साधनलाई हामीले कारबाहीको दायरामा ल्याउँछौं ।’

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार ०६:२८