सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्जमा पानीको चुनौती : कृतिम पोखरी निर्माण प्राथमिकतामा

बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तरगत गिद्देनीचौरमा वन्यजन्तुको खानेपानीको व्यवस्थापनका लागि निर्माण गरिएको पोखरी ।

बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तरगत गिद्देनीचौरमा वन्यजन्तुको खानेपानी व्यवस्थापनका लागि निर्माण गरिएको पोखरी ।


काशीराम शर्मा । बाँके । बाँके राष्ट्रिय निकुञ्ज स्थापनाको सातौं बर्ष चलिरहँदा बन्यजन्तुको संख्यामा उच्च वृद्धि भएको छ । सुरुवाती चरणमा चारवटा बाघ रहेको राष्ट्रिय निकुञ्जमा अहिले त्यो संख्या बढेर १३ पुगेको छ । आधा दर्जन जंगली हात्ती यो निकुञ्जमा रहेका छन् । त्यस्तै जरायो, चौका, बँदेल लगायतका बन्यजन्तुको संख्यामा पनि उस्तै वृद्धि भइरहेको छ ।
पानीमा पौडिन रुचाउने उनीहरूका लागि प्राकृतिक खोला, ताल, पोखरी र सिमसार भने यो निकुञ्जमा छैनन् । निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरी पौडिन मात्रै नभएर त्यहाँ पिउने पानी पनि नभएकाले जनवारलाई समस्या परेको बताउँछन् । पानी नहुँदा निकुञ्जबाट जनावरहरू बाहिर निस्कने भएकाले मानवीय क्षति हुने तथा मानिसले प्रतिकार गर्दा मानव र बन्यजन्तुबीच द्वन्द्व देखिएको चौधरी बताउँछन् ।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीसँग गरिएको भिडियो कुराकानी :

बाँके निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नील गाई, चितुवा, भालु लगायत जनावर छन् । पौडी नखेल्ने जनावरलाई पनि पिउने पानी पर्याप्त चाहिन्छ । ५५० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा करिब २७ वटा पोखरीहरु छन्, ती पनि मानव निर्मित । २७ वटामध्ये १३ वटामा बाह्रे महिना पानी उपलब्ध हुने गरेको छ । निकुञ्जले अन्य १४ वटामा पनि सधैं पानीको व्यवस्था गर्ने कोशिष भने गरिरहेको छ । निकुञ्जका अनुसार, १० वर्गकिलोमिटर क्षेत्रमा एउटा पानीको स्रोत आवश्यक पर्ने हुँदा निकुञ्जमा कम्तीमा ५५ पोखरी चाहिन्छ । जसमा बाह्रै महिना पानी हुनुपर्छ ।
बाँके निकुञ्ज भएर बग्ने सिक्टा सिँचाइको नहर वन्यजन्तुले पानी पिउन सक्ने प्रकारको छैन । त्यही भएर पानी पिउन नहर पसेका बन्यजन्तुहरु डुबेर मर्ने गरेको निकुञ्जले जनाएको छ । सहायक संरक्षण अधिकृत चौधरी जनावरले पानी पिउन सक्ने संरचना बनाउनका लागि निकुञ्जले कृतिम पोखरीहरु निर्माण गरिरहेको बताए । पानी खोज्न गाउँ पुगेका कैयौं चित्तल कुकुरको आक्रमणका कारण घाइते भएको पनि उनको भनाइ छ । राप्ती नदीको केही भाग निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ भने निकुञ्जको सीमामा बबई नदी छ ।
बबईमा निर्माण भइरहेको भेरी डाइभर्सनबाट निकुञ्जमा पानी ल्याउने सम्भावना छ । निकुञ्जभित्र खहरे खोलाहरू मात्र रहेकाले पानीको अरू स्रोत देखिंदैन । वर्षामा उर्लने खहरे खोलाहरूमा हिउँदमा पानी हुँदैन । त्यसैले सिमसार संरक्षण गर्ने तथा वर्षाको आकाशे र खहरे खोलाको पानी जोगाउने उपायतर्फ निकुञ्जले सोच्नुपर्ने देखिन्छ । १० ठाउँमा पोखरी बनाएर वर्षाको पानी जम्मा गर्ने प्रयास सुरू गरिएको भए पनि त्यो पर्याप्त हुन नसकेको सहायक संरक्षण अधिकृत चौधरीको भनाई छ ।
बन्यजन्तुका लागि निकुञ्जले गिद्देनीचौर, विकासनगर, खड्कवार, नवप्रतिभा लगायतका स्थानमा कृतिम तालहरु निर्माण गरेर खोनपानीको व्यवस्था गरेको छ । सहायक संरक्षण अधिकृृत चौधरीका अनुसार करौती भन्ने स्थानमा पोखरी निर्माण गरेर १ हजार ७०० मिटर टाढाबाट पाइपिङ्ग गरेर पानी जम्मा गर्न थालिएको छ । चुरेको फेदीमा निकुञ्ज भएपनि निकुञ्ज क्षेत्रभित्र बाह्रै महिना बग्ने नदी र खोला नभएपछि निकुञ्जमा पिउने पानीको अभाव छ ।

बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तरगत गिद्देनीचौरमा वन्यजन्तुको आहारका लागि निर्माण गरिएको घाँसे मैदान ।


निकुञ्जमा जनावरका लागि आवश्यक पानीको अभाव भएपछि निकुञ्ज प्रशासनले बबई र राप्ती नदीबाट निकुञ्ज क्षेत्रमा बाह्रै महिना पानी ल्याउनका लागि आवश्यक पहल थालेको जनाएको छ । निकुञ्ज क्षेत्रभित्र धेरै खहरे खोला भएपनि हिउँदको समयमा ति खोलामा पानी नहुँदा जनावरहरुका लागि खोनपानीको अभाव भएको हो । बाँके राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत दिलबहादुर पुनले निकुञ्ज क्षेत्रमा खोपानीको दिर्घकालिन व्यवस्थापनका लागि ठूला परियोजना आवश्यक रहेको बताए ।
‘कृतिमरुपमा निर्माण गरिएका पोखरी कुनै पनि बेला सुक्न सक्छन्,’ प्रमूख संरक्षण अधिकृत पुनले भने, ‘चुरेमाथि केही पानीका श्रोतहरु छन्, ती श्रोतहरुलाई पाइपिङ्ग गरेर केही पोखरीहरु निर्माण गर्न सकिन्छ । तर त्यतिले मात्रै नपुग्ने भएकाले ठूलो परियोजना सञ्चालन गरेर बबई नदीबाट पानी ल्याउन सकिन्छ ।’ उनका अनुसार सिक्टा नहरबाट पनि पानी तानेर कृतिम पोखरीहरु निर्माण गरेर पानीको व्यवस्थापन गर्न सकिने देखिन्छ । तर सिक्टा नहर आफैमा जनावरहरुका लागि भने जोखिमपूर्ण छ । किनकी यहाँ पानी पिउनका लागि आउने जनावरहरु डुबेर मर्ने खतरा उत्तिकै छ ।
प्रमूख संरक्षण अधिकृत पुनले भने, ‘सिक्टा नहर जोखिमपूर्ण छ, यसका लागि हामी संवेदनशील छौं । नहर वारपार गर्दा जनावरहरु डुवेर मर्न सक्ने भएकाले आजातजावत बढी हुने करिडोरमा वैकल्पिम व्यवस्था गरेर जनावरहरुलाई सहज आवतजावत गर्न सक्ने बनाउने योजनामा छौं । यसका लागि सिक्टा सिँचाइ आयोजनासँग पनि छलफल भइरहेको छ ।’ पानीको दिर्घकालिन व्यवस्थापनका लागि कतिपय पोखरीहरुमा सोलार जडान गरेर पानीको आपूर्ति गरिरहेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार ०५:३५