सूचनाको शक्ति - The Power Of Information

        

तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द

रुकुम । जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।
गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ,’ स्थानीय कर्णबहादुर ऐरीले भने, ‘प्रत्येक वर्ष टिप्दा लोप हुने सम्भावना हुन्छ ।’ तीन वर्षको अन्तरमा यार्सा टिप्दा संरक्षण हुने उनको भनाइ छ ।
स्यालाखदीको सानाखारा, ठूलाखारा र भित्तेखोलामा बहुमूल्य यार्सा पाइने गर्छ । यहाँ यार्सा संकलनका लागि रुकुमलगायत छिमेकी जिल्ला जाजरकोट, डोल्पालगायतका ठाउँबाट समेत आउने गर्छन् । यार्सा मौसम व्यवस्थापन समितिले दुई वर्षपछि मात्र यार्सा संकलनका लागि बुकीहरू खुल्ला गर्ने स्थानीयवासी अजय थापाले जानकारी दिए ।
संकलन बन्द गरिएपछि यहाँका बासिन्दा यार्सा संकलनका लागि रुकुम (पूर्व) र डोल्पासम्म पुग्ने गर्छन् ।
गतवर्ष यहाँ रु ६० लाख बराबरको यार्सा संकलन भएको थापाले जानकारी दिए । यस क्षेत्रलाई संरक्षण गरी गुणस्तरीय र धेरै यार्सा पाइने ठाउँ बनाउन सहयोग पुग्ने स्थानीयवासीको भनाइ छ ।
यहाँ वर्षांै अघिदेखि यार्सा संकलन गर्न लागिएको हो । पहिला पहिला प्रत्येक वर्ष यार्सा संकलन हुँदै आएको थियो । प्रत्येक वर्ष यार्सा संकलन गर्दा यार्सा नै लोप हुन थालेपछि तीन वर्षपछि यार्सा संकलन कार्य शुरु गरिएको स्थानीयवासी शशिराम विकले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार ०३:३६