सूचनाको शक्ति - The Power Of Information

        

मोदीको भ्रमणमा सीमा समस्या समाधान

काठमाडौं । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आफ्नो धारणा राख्दै सांसदहरुले सिमा क्षेत्रमा भएको समस्याको समाधान गर्न माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी २८ बैशाखमा हुने नेपाल भ्रमणमा समास्या समाधान गर्न सांसदहरुले सरकारसंग माग गरेका छन् ।
सांसद हरिराम चौधरीले कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय पक्षले गरेको सीमा अतिक्रमण लगायत विषयमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा स्पष्टसँग कुरा राख्न आग्रह गरे । ‘भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सीमाक्षेत्रमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरियोस्’, उनले भने, ‘सिमा समस्याका कारण दैनिक सिमा क्षेत्रका नेपालीमाथि अन्याय भइरहेको छ ।’ यस्तै, सांसद इन्दु कडरियाले नेपाल–भारत सीमाक्षेत्र व्यवस्थित गर्न आग्रह गरिन् । उनले सीमाक्षेत्रमा सुरक्षाको प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
सांसद अनिता देवकोटाले पुनर्वास क्षेत्रमा भारतीय पक्षले सीमा अतिक्रमण गरेर नेपालीलाई दुःख दिएको भन्दै समस्या समाधानका लागि आग्रह गरिन् । सांसदहरु रामप्रित पासवान, खेमराज नेपाली, शिवबहादुर विक लगायतले लामो समयदेखि देशका विभिन्न स्थानमा जातीय छुवाछुत जारी रहेको भन्दै त्यस्तो कार्यमा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरे । उनीहरुले संविधानमा नै जातीय भेदभावविरुद्ध प्रष्ट व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयन नभएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए ।
यस्तै, सांसद बृजेशचन्द्र लालले बाढीपीडितले विगतमा उचित क्षतिपूर्ति नपाएकाले वर्षा लाग्नुअगावै सुरक्षाको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कालीबहादुर मल्लले हालै मुलुकका विभिन्न स्थानमा भएको वर्षा, असिनापानी र आगलागीका कारण बालीनाली र धनजनको क्षति भएको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरे ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार १५:१०