सूचनाको शक्ति - The Power Of Information

        

बैक खाता नबन्दा प्रदेश ५ मा बजेट कार्यान्वयनमा कठीन

बुटवल । प्रदेश ५ मा चालु आर्थिक वर्षको बजेट कायान्वयनमा आउन सकेको छैन । आर्थिक वर्ष सकिनै लाग्दा पनि प्रदेश सरकारको बैक खाता सञ्चालन नभएपछि बजेट कार्यान्वयनमा आउन नसकेको हो ।
प्रदेश सरकारले गत चैत ३० गते चालु आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । संघीय सरकारले नयाँ प्रदेश सञ्चना भएकाले समानीकरण अनुदान अन्तर्गत रकम दिएको हो । प्रदेश सरकारलाई दिएको उक्त रकम मध्ये पारिश्रमिक र भौतिक पूर्वाधारबाट बचेको रकम सम्भाव्यता अध्ययनमा खर्च गर्ने गरी रकम विनियोजन गरिएको थियो । तर राष्टबैंकले बैंक खाता सञ्चालनका लागि वित्तीय संस्था तोकेर नपठाएकाले खाता सञ्चालन गर्न नसकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताए ।
‘चालु आर्थिक वर्ष सकिन अव दुई महिना बाँकी रहेकाले बजेट कार्यान्वयनमा कठिन हुने देखियो,’ सचिव गौतमले भने, ‘प्रदेशको बैंक खाता सञ्चालनका लागि महालेखा परीक्षकले निर्णय गरी राष्टबैंकमा पठाउनुपर्छ । त्यसपछि राष्टबैंकले खाता सञ्चालन गर्नका लागि बैंक तथा वित्तीय संस्था तोकेर पत्र पठाउँछ ।’ उनले राष्टबैंकबाट निर्णय भएको सुन्नमा आएपनि आफूले पत्र नपाएको बताए । उनका अनुसार अव बैंक खाता सञ्चालन भएपनि पुँजीगत बजेट भने कार्यान्वयन गर्ने सम्भावना घटेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेको मुख्य मन्त्री शंकर पोखरेलले गत चैत ३० गते सदनमा पेश गरेको बजेट बैशाख ३ गते पारित भएको थियो । बजेटमा चालु आर्थिक वर्षमा कार्यालय स्थापना तथा सञ्चालन, तलब भत्ता, पारिश्रमिक लगायतमा खर्च हुने र केही आयोजनाहरुको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न र नीति निर्माणका लागि बजेट छुटेयाइएको थियो ।
बजेटमा चालु खर्च तर्फ ३६ करोड ६३ लाख ८२ हजार र पूँजीगततर्फ ३४ करोड ६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटको कार्यान्वयनमा समस्या उत्पन्न हुँदा काम गर्न कठिन भएको प्रादेशिक योजना आयोगका उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए । बिनियोजित बाँकी रकम ३१ करोड ३४ लाख ४३ हजार भने अर्थ बजेटमा राखिएको थियो । यो शीर्षकबाट बचत भएको रकम आगामी आर्थिक वर्षको आयमा समावेश गरिने छ ।
‘बजेट बिनियोजन भैसकेपछि हामीले खर्च गर्नका लागि कानुनी प्रक्रिया पनि पूरा ग¥यौं, तर रकम अएन, रकम नआएपछि कर्मचारीले चैतको तलब भत्ता पनि पाएका छैनन्,’ श्रेष्ठले भने, ‘अव बजेट आइहाले पनि विकासे बजेट खर्च गर्न सक्ने अवस्था छैन ।’

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०५:००