सूचनाको शक्ति - The Power Of Information

        

जग्गा प्लटिङमा रोक लगाउने सरकारको तयारी


काठमाडौं । सरकारले खेतियोग्य जमिनमा प्लटिङ गर्न रोक लगाउने भएको छ । सरकारले यसका लागि आउदो ६ महिनाभित्र भू–उपयोग ऐन ल्याइ जग्गा प्लटिङ रोक्न लागेको हो । पछिल्लो समयमा सहरीकरण विस्तारसंगै खेतियोग्य जग्गामा प्लटिङ बढ्दै गएर उत्पादनमा असर पर्ने भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि, पशुपंक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको रुपान्तरणको मार्गचित्र सार्वजनिक गर्दै खेतियोग्य जमिन बचाउन प्लटिङ रोक्न लागेको बताए । उनले १ वर्षभित्र मोही प्रथाको पनि अन्त्य गर्ने जानकारी दिए । मन्त्री खनालले अब पनि भूमि व्यवस्थापन गर्न नसके कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउँदै भूमिलाई वर्गिकरण गर्नु आवश्यक रहेको बताएका छन् ।
जमिन खण्डीकरण हुँदा खेतीयोग्य जमिन सकिँदैं गएको भन्दै उनले यसलाई रोक्नका लागि भू उपयोग नीति तथा भू–नीतिको तयारी भइरहेको जानकारी दिए । मन्त्री खनालले भने, ‘कृषियोग्य जमिनको खण्डीकरण डरलाग्दो अवस्थामा छ, यसलाई रोक्नुपर्छ, यसका लागि सरकार लागिरहेको छ ।’

प्रकाशित मिति : २३ बैशाख २०७५, आइतवार ०८:०२