सूचनाको शक्ति - The Power Of Information

        

चिनिया अर्थतन्त्रमा १७ वर्षपछिकै ठूलो झट्का !


काठमाडौं । चीनलाई १७ वर्षमा पहिलोपटक आर्थिक झट्का लागेको छ । यो वर्षको पहिलो त्रैमासमा उसलाई करिब २८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी भएको हो । यस्तो सन् २००१ पछि पहिलोपटक भएको हो । चीनले १७ वर्षमै पहिलोपटक करेन्ट अकाउण्ट डेफिसिट(चालु खाता घाटा)को अवस्था भोगेको हो ।
यसका साथै चीनको विश्वभर सबैभन्दा ठूलो निर्यातकर्ता बन्ने सपना समेत टूट्नसक्ने विश्लेषण हुन थालेको छ । चीनसँग हाल विश्वकै सबैभन्दा बढी ३.१४ लाख करोड डलर बराबरको विदेशी मुद्राको सञ्चिती छ । स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सचेञ्ज(एसएएफई)द्वारा जारी तथ्यांकअनुसार यो कुरा बाहिर आएको हो । उसका अनुसार मार्च त्रैमासको क्रममा चीनको करेन्ट अकाउण्ट डेफिसिट २८.२ अर्ब डलर रेकर्ड गरिएको छ ।
बस्तुको व्यापारमा चीन अझै पनि फाइदामै छ, तर त्यसमा समेत पहिलाको तुलनामा ३५ प्रतिशतको गिरावट देखिएको छ । चीनको काइशिन म्यागेजिनका अनुसार सेवा क्षेत्रमा चीनले करिब ७६ अर्ब अमेरिकी डलर बराबरको घाटा व्यहोरेको छ । यो सन् १९९८ पछिकै सबैभन्दा बढी त्रैमासिक घाटा हो । एसएएफईले देशको बचाउ गर्दै भनेको छ कि मौसमका कारण अर्थतन्त्रमा यति ठूलो नोक्सानी भएको हो ।
तर, अर्थशास्त्रीहरुले भने यो अवस्थालाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा चीनको आधारभूत अवस्थामा परिवर्तनको संकेत हुनसक्ने र यो बितेको एक दशकमा विश्व अर्थतन्त्रमा देखिएको असन्तुलनको कारक पनि भनेका छन् । हङकङमा स्ट्याण्डर्ड चार्टर्डका चीफ चाइना इकोनोमिस्ट डिङ शुआङले आफ्नो नोटमा लेखेका छन् कि गत २५ वर्षको दौरानमा वार्षिक आधारमा चीनको करेन्ट अकाउण्ट नाफामै छ । उनले २५ वर्षदेखि चलिरहेको यो अवस्थामा क्रमभंग हुने वातावरण बन्दै गएको देखिन थालेको पनि बताएका छन् ।
उनलाई उद्धृत गर्दै हङकङको साउथ चाइना मर्निङपोस्टले समाचारमा लेखेको छ, ‘व्यापारलाई लिएर बढ्दो तनावका बीच यो हल्का झट्काले चीनको करेन्ट अकाउण्ट डेफिसिटमा परिवर्तन हुनसक्नेछ ।’ चीनका लागि चालु खाता घाटाको सबैभन्दा खराब अवस्था अझै आइसकेको छैन, कारण उसको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको द्विपक्षीय व्यापार घाटामा कमी ल्याउने माग पूरा गर्न अमेरिकासँग महत्वपूर्ण कुराकानी भइरहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।
खासमा ट्रम्पले चीनसँग अमेरिकाको द्विपक्षीय व्यापार घाटा हालको ३७५ अर्ब डलरबाट तुरुन्त १०० अर्ब डलर तथा सन् २०२० सम्म २०० अर्र्ब डलरले कमी ल्याउने माग गरेका छन् । अमेरिकाका ट्रेजरी सेक्रेटरी स्टीवन मुन्सिनको अगुवाईमा अमेरिकी डेलिगेसन तथा चीनका भाइस प्रेजिडेन्ट प्रिमियर लियू नेतृत्वको टोलीबीचको २ दिने वार्ता शुक्रबार सकिएको छ । सो क्रममा दुवै देशको डेलिगेसनबीच केही सम्झौतामा सहमति भएको छ, तर कैयन मतभेद अझै पनि बाँकी नै छ ।
विगत १७ वर्षदेखि चीनको विदेशी मुद्रा सञ्चिती उसका लागि गर्वको बिषय थियो । यही क्रममा चीनले विश्वको कुना कुनासम्म निर्यातलाई बढायो । २००८ को वैश्विक आर्थिक मन्दीपछि चीनको आर्थिक स्थितिमा गिरावट आयो र त्यसपछिदेखि नै चीन निर्यातप्रति कम र घरेलु खपतप्रति बढी निर्भर हुने कोशिश गरिरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आइतवार ०४:३९