सूचनाको शक्ति - The Power Of Information

        

सुरु भयो कैलाली भ्रमण वर्ष, चिसापानीमा उद्घाटन

धनगढी । कैलाली जिल्लालाई समृद्धितर्फ लैजानका प्रचारप्रसार गर्न ‘कैलाली भ्रमण वर्ष–२०७५’ शनिबारदेखि शुरु हुँदैछ । ‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ मूल नाराका साथ भ्रमण वर्षको चिसापानीमा उद्घाटन हुनेछ ।
कैलाली जिल्ला प्रदेश नं ७ को प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्र मात्र नभई समग्र प्रदेशकै प्रतिनिधि एवं प्रचूर आर्थिक सम्भावना बोकेको जिल्ला भएको सबैलाई परिचय गराउनका लागि महोत्सव गर्न लागिएको सांसद झपट रावलले जानकारी दिए । सांसद नारदमुनि रानाले कैलालीको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचार गर्नका लागि भ्रमण आयोजना गरिएको बताए ।
भ्रमण वर्षमा जिल्लाका पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक एवं दुर्लभ वन्यजन्तुको बासस्थलको अवलोकन गराइनेछ । जिल्लामा चिसापानी क्षेत्र, कर्णाली पुल, राजकाँडा, टीकापुर बृहत् उद्यान, घोडाघोडी ताल, डल्फिन संरक्षण तथा प्रजजन केन्द्र, वसन्ता जैविक मार्ग, खानीडाँडाजस्ता रमणीय–दर्शनीयस्थल तथा गोदावरी धाम, शिवपुरी उत्तर रामेश्वरम धाम, बेहडाबाबा, मोहन्याल क्षेत्र, बर्दगोरिया धाम, त्रिवेणी धामजस्ता धार्मिकस्थल छन् ।
यस्तै गर्भा दरबार, टीकापुर बंगलाजस्ता ऐतिहासिक धरोहर र थारु घरबास, विविध कला, भाषा, संस्कृति, वेशभूषा, चालचलन एवं जल, जंगल, जमीनजस्ता सांस्कृतिक तथा प्राकृतिक सम्पदाको बाहुल्य पनि छ । ‘टीकापुर घटनापछि कैलालीको सामाजिक सद्भाव बिग्रिएको छ,’ रानाले भने, ‘त्यो बिग्रिएको सद्भावलाई देशभरिका सांसदलाई भ्रमणमा सहभागी गराई सुधार गरिनेछ ।’ उनले विभिन्न जातजातिका सांसदलाई सामाजिक सुधार गर्नका लागि टीकापुरमा समेत लगिने बताए ।
कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले कैलालीलगायत प्रदेश नं ७ लाई सरकारले पर्यटकीय प्रदेश घोषणा गरी विशेष कार्यक्रम ल्याउनका लागि भ्रमण वर्ष गर्न थालिएको बताए । भ्रमणकै क्रममा नेपालको सबभन्दा ठूलो जलविद्युत् परियोजना कर्णलीमा बहुउद्देश्यीय परियोजनाको सञ्चालनको पनि पहल गर्न सहयोग मिल्ने समितिका प्रमुख थापाले बताए ।
तीस हजार मेगावाट क्षमताको उक्त परियोजना सर्वेक्षण भए पनि अहिलेसम्म सञ्चालनको कुनै तयारी गरिएको छैन । यस्तै सुदूरपश्चिमको एक मात्र विमानस्थल धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा घोषणागरी यसका लागि विशेष कार्यक्रम ल्याइने समेत योजना रहेको थापाले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ०२:५२