सूचनाको शक्ति - The Power Of Information

        

देशभर यातायात समितिका पदाधिकारी धमाधम पक्राउ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको आदेशपछि देशभरका यातायात समितिका पदाधिकारीलाई धमाधम पक्राउ गरिएको छ । सेवा बन्द गरेर हड्तालमा उत्रिएका समितिका पदाधिकारीलाई पक्रन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालयले भटाभट पक्रन थालेको हो ।
प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्रेको छ । सिडिन्केट पक्षमा जारी आन्दोलन प्रचार समिति संयोजकसमेत रहेका सिटौलालाई रिपोर्टर्स क्लबमा हुने कार्यक्रममा जाँदै गर्दा प्रहरीले पक्रेको हो । देशैभरबाट सिण्डिकेटका पक्षमा रहेका व्यवसायी संघका पदाधिकारीहरुलाई पक्रन थालिएको छ ।
उनीहरुलाई अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ अनुरुप कारवाही थालिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ पर्नेमा मेची बस व्यवसायी संघ, पूर्वी नेपाल व्यवसायी संघ, हिमाल यातायात व्यवसायी संघ, सगरमाथा यातायात व्यवसायी संघ, पश्चिम नेपाल यातायात व्यवसायी संघलगायतका पदाधिकारीहरु धमाधम प्रहरी नियन्त्रणमा पुगेका हुन् । ऐनमा कानून अवज्ञा गर्नेलाई ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ ।
सरकारले केही दिनअघि अत्यावश्यक सेवामा हड्ताल निषेध गरिएको सूचना राजपत्रमै निकालेको थियो । पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदमराज गाहालाई पनि बुटवल प्रहरीले पक्रेको छ । सिण्डिकेट कायम गर्न पाउनुपर्ने माग गर्दै यातायात बन्द गराएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलार्य अत्यावश्यक सेवा ऐन उल्लंघन गरेको अभियोगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
समितिकै अवरोधका कारण बुटवलबाट कुनै यात्रुवाहक बस चलेनन् । गाडी जति ग्यारेजमा थन्क्याइए भने बसपार्क खाली थियो । पश्चिम नेपाल बस व्यवासायी संघ अन्तरगतका २५ सयभन्दा बढी सवारी साधन नचल्दा सर्वसाधारण यात्रु अलपत्र परेका हुन् । सुनसरीमा पनि यातायात व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृहमन्त्री थापाको निर्देशनलगत्तै नेपाल राष्ट्रिय यातयात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापा, व्यवसायी राजन कट्टेल, राम परियार लगायतलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ११:५३