सूचनाको शक्ति - The Power Of Information

        

उपचार नपाएपछि पेटको बच्चासहित गर्भवतीको मृत्यु

दीपेन्द्र शर्मा । सुर्खेत । सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनी सामान्य अवस्थामा सुत्केरी गराउनाका लागि बिहीबार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् । राति १२ बजेसम्म पनि डाक्टर नआएकाले अस्पतालकै लापर्वाहीका कारण मृत्यु भएको मनिषाका श्रीमान् जगत सिंहले बताए । बिहानै अस्पताल भर्ना गरे पनि डाक्टरले कुनै वास्ता नगरेको सिंहको आरोप छ ।
छिटो सुत्केरी गराउन नर्सले सूई दिएको र पानी बग्दै जाँदा श्रीमतीको मृत्यु भएको सिंहले बताए । ‘बिरामीले बरु छोरा चाहिँदैन तर मलाई बचाइदेऊ भन्दा पनि अस्पतालले बेवास्ता गरेको, समयमा शल्यक्रिया नगरेको, नाक मुखबाट रगत बगेको अवस्थामा गर्भवतीको मृत्यु भएको छ,’ उनले भने । उनका अनुसार अहिलेसम्म मृतक बच्चा मृतक सिंहको पेटभित्र नै रहेको छ । सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी श्रीमतीको गुप्ताङ्गबाट पानी बगेको भनी हात हालेर पानी पोका फुटालेर भर्ना गरेको श्रीमानको आरोप छ ।

अस्पतालमा दिनभरि मनिषाले आफूलाई बचाइदिन भन्दै हारगुहार गर्दा राति १ बजेसम्म पनि डाक्टर उपचारका लागि नआएको उनको भनाइ छ । अस्पतालले लापर्वाही गरेको भन्दै मृतकका आफन्तले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । उपचारमा लापर्वाही गर्नेलाई कडाभन्दा कडा कारवाही तथा मृतकका छोरा र छोरीको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ ।

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु : अस्पताल
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा डम्बर खड्काले फोक्सोमा पानी जमेका कारण मनिषाको मृत्यु भएको बताएका छन् । गर्भवतीको उपचारमा अस्पतालबाट कुनै लापर्वाही नभएको डा खड्काको भनाइ छ । उनले मृतकका आफन्तले लगाएको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार अस्पतालका कारण नभई पानी पोका आफैँ फुटेर फोक्सोमा पानी गएकाले मनिषाको मृत्यु भएको हो ।

पाँच दिनदेखि मरेको बच्चा पेटमा
दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोशेरीकी नन्दकली विक (चाकुरी)का पेटमा पाँच दिनदेखि दुई बच्चा मृत अवस्थामा रहेका छन् । दैलेखको ठाँटीकाधमा जाँच गराउँदा डाक्टरले पेटमा रहेका बच्चाको मृत्यु भएको बताएपछि विक अस्पतालमै उपचारका लागि भर्ना भएकी छन् । वैशाख १७ गते दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उनका श्रीमान् हरि विक क्षेत्रीय अस्पताल सुर्खेतमा आएका हुन् ।
सुर्खेतको विरेन्द्रनगरमा १९ गते पुनः भिडियो एक्सरे गर्दा दुईवटै बच्चा मृत भएको जानकारी अस्पतालका डाक्टरले दिएको विकका श्रीमान् हरिले बताए । अस्पतालले औषधि किनेर ल्याउनुस् मृत बच्चा निकाल्नुपर्छ भनेको र अहिलेसम्म पनि चाकुरीको शल्यक्रिया हुन नसकेको उनले बताए । अस्पतालले भने अवस्था हेरेर शल्यक्रिया गरिने बताएको छ । रासस

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १०:४७