सूचनाको शक्ति - The Power Of Information

        

क्षेत्रीय ट्राफिक प्रहरीको ‘ओभरलोड’ सेटिङ्ग, ‘ढुंगा गिट्टी बोकेका ट्रिपर र ट्याक्टर सोझैं गन्तव्यमा’


काशीराम शर्मा । बाँके । बाँकेको पूर्व र उत्तरी क्षेत्रबाट कोहलपुर हुँदै नेपालगन्ज लगायतका क्षेत्रमा ढुवानी हुने ढुंगा, गिट्टी र वालुवामा ट्राफिक प्रहरीको राम्रै मिलेमतो रहेको खुलेको छ । खासगरी उत्तर रत्न राजमार्ग र पूर्वमा महेन्द्र राजमार्ग हुँदै ढुंगा, गिट्टी र वालुवा ओभरलोड बोकेर आउने ट्रिपर तथा ट्रयाक्टरहरुलाई सोझैं गन्तव्यमा पुग्ने व्यवस्था ट्राफिक गरिएको छ ।
बाँकेको पूर्वी क्षेत्रबाट ओभरलोड भएर आउने ट्रिपर तथा ट्रयाक्टरहरुलाई ट्राफिक प्रहरीले कतै रोक्दैन । सवारी चेकजाँचका नाममा ठाउँठाउँमा चेकिङ राख्दै आएको ट्राफिक प्रहरीले ओभरलोड भएर आएका ट्रिपर तथा ट्रयाक्टरहरुलाई उन्मुक्ति दिइरहेको छ । ट्राफिक प्रहरी स्रोतका अनुसार क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाटै ओभरलोड ट्रिपर तथा ट्रयाक्टरहरुलाई छाडिदिने निर्देशन छ ।
स्रोतले भन्यो, ‘ओभरलोड भएर आउँदा हामीले रोक्छौं, क्षेत्रबाट आदेश छोडिहाल भन्ने आउँछ । माथिको आदेश मान्नैपर्छ ।’ ट्राफिक प्रहरी स्रोतका अनुसार ओभरलोड भएर आएका ट्रिपरहरु सेटिङ्गमा सञ्चालन गरेर उनीहरुबाट मासिकरुपमा रकम असुली गरिन्छ । ट्राफिक प्रहरी स्रोतका अनुसार ओभरलोड बोकेर आउने ट्रिपर तथा ट्रयाक्टरहरुलाई कारबाही गर्न खोज्दा क्षेत्रबाट दवाव आउँछ ।
ट्राफिक प्रहरीले ओभरलोड ट्रिपर तथा ट्रयाक्टरहरुबाट मासिक ४५ सयदेखि १५ हजार रुपैयाँसम्म असुलिरहेको ट्रिपर चालकहरु बताउँछन् । ढुंगा, गिट्टी र वालुवा बोकेर दैनिक सयौंको संख्यामा कोहलपुर हुँदै नेपालगन्ज लगायतका क्षेत्रमा भित्रिने ट्रिपर र ट्रयाक्टरहरु अधिकांश ओभरलोड भएरै भित्रिने गर्छन् । अझ विभिन्न निर्माण कम्पनीका ट्रिपरहरु पनि उस्तै संख्यामा ढुंगा, गिट्टी र वालुवा बोकेर निर्माणस्थलसम्म पुग्ने गरेका छन् ।
ट्राफिक प्रहरीकै संरक्षणमा बिगत लामो समयदेखि ओभरलोड ट्रिपर तथा ट्याक्टरहरु महेन्द्र राजमार्ग र रत्न राजमार्गबाट कोहलपुर हुँदै आसपासका गन्तव्यमा पुग्ने गरेका छन् । यसले क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको सेटिङ्गको ‘लाइन’ खुलेको पाइएको छ ।
ट्राफिक प्रहरीकै संरक्षणमा त्यस क्षेत्रबाट खुलेआमरुपमा ओभरलोड ट्रिपर तथा ट्याक्टरहरु कोहलपुर हुँदै गन्तव्यतर्फ भित्रिने गरेको गुनासाहरु आइरहेका छन् । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले नै ‘लाइन’ दिएपछि ओभरलोड ट्रिपर तथा ट्याक्टरहरु भित्रिने क्रम हुने क्रम बढेको हो ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले यो कुरा गलत भएको दावी गरे । तर एक जना ट्रयाक्टर चालकले भने आफूले मासिकरुपमा क्षेत्रीय ट्राफिक प्रहरीमा रकम बुझाउँदै आएको बताए । ट्रयाक्टर चालकले भने, ‘मासिकरुपमा केही रकम बुझाउँदा ओभरलोड राख्न पाइन्छ । त्यसबाट हामीलाई पनि राम्रै फाइदा हुन्छ ।’
नाम नबताउने शर्तमा अर्का एक ट्याक्टर चालकले आफुहरुले निर्माण सामाग्री ओसारपसार गर्दा ट्राफिक प्रहरीबाट निक्कै समस्या भोग्नुपरेको बताउँदा मासिकरुपमा केही रकम दिने शर्तमा ओभरलोड समेत राख्न पाइने भएपछि अहिले सहज भएको बताए । ट्राफिक प्रहरीलाई केही रकम बुझाए पनि ओभरलोड राख्न पाइने भएपछि आफूहरुलाई घाटा नहुने ट्याक्टर चालकको भनाई छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक खड्काले ट्राफिक प्रहरीले ओभरलोड ट्रिपर र ट्याक्टरलाई कारबाही गरेका बताउँदै कसैसँग सेटिङ्ग नभएको बताए । उनले भने, ‘नियम संगतरुपमा हामीले चेकजाँच गर्ने गरेका छौं । नियम विपरित चल्ने सबै प्रकारका यातायातका साधनलाई हामीले कारबाहीको दायरामा ल्याउँछौं ।’

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १०:१४