भ्रमणका क्रममा शुक्लाफाँटामा सामुहिक तस्वीर लिँदै चोरीसिकार नियन्त्रण समितिका युवाहरु ।
काशीराम शर्मा । बाँके । वन्यजन्तु चोरीसिकारमा तस्करले प्रयोग गरेर धेरै युवाहरु जेल परेका समाचार सुन्दै आएका बाँकेका युवाहरु झस्किन्थे । बाँके राष्ट्रिय निकुञ्ज स्थापनाको सुरुवातमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तु तस्करीका समाचारहरु पनि आइरहन्थे । ती समाचारले युवाहरुलाई झस्काउँदै गर्दा उनीह विस्तारै चोरी सिकार नियन्त्रणको अभियानमा सक्रिय हुन थाले ।
अहिले युवाहरु संरक्षणको क्षेत्रमा उदाहरणीय भएका छन् । बाँके राष्ट्रिय निकुञ्जमा हरेक वर्ष वन्यजन्तु तस्करीका समाचारहरु सुनिन्थे, जंगली जनावरहरु मारिने क्रम रोकिएको थिएन । चोरसिकारीहरूले स्थानीय युवालाई प्रलोभनमा पारेर जंगली जनावरहरु सोत्तर पार्न विभिन्न उपायहरु अपनाउथे । कानूनको फन्दामा तिनै युवा पर्थे, मुख्य चोररिकारीहरु उम्किन्थे । हरेक पटक मुख्य तस्कर उम्कने यस्ता घटनामा विस्तारै कमी हुन थाल्यो ।
चोरी सिकारीको क्रम नरोकिएपछि बाँके निकुञ्ज मध्यवर्ती क्षेत्रका युवाहरुले गाउँगाउँमा चोरीसिकार नियन्त्रण युवा समिति गठन गर्ने योजना बनाए, जसमा युवाहरूले साथ नदिने कुरै भएन । यो अभियानमा भएभरका युवालाई परिचालन गरेपछि बाँके निकुञ्जमा जंगली जनावरको तस्करी पूर्णरुपमा बन्द भएको छ । बाँके निकुञ्जमा तीन वर्षदेखि ९ वटा चोरीसिकार नियन्त्रण उपसमिति क्रियाशिल रहेका छन् । पछिल्लो समयमा यो समितिमा एक हजार बढि युवा आवद्ध भइसकेका छन् ।
शुक्लाफाँटामा जंगल सफारी गर्दै चोरीसिकार नियन्त्रण समितिका युवाहरु ।
चोरीसिकार नियन्त्रण युवा सञ्जालका अध्यक्ष कृष्ण चौधरीका अनुसार यो अभियानले मध्यवर्ती क्षेत्रमा उदाहरणीका कार्य गरेको छ । युवाहरुलाई यो अभियानमा दुई वर्षदेखि जियोलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालले साथ दिइरहेको छ । जेडएसएल नेपाल बाँके बर्दिया कम्प्लेक्स कोहलपुरका अधिकृत पवन गौतमका अनुसार जैविक विविधता तथा वन्यजन्तु संरक्षणका लागि ग्रामीण क्षेत्रमा युवाको सक्रियता निकै बढेको छ ।
चोरीसिकार नियन्त्रणका लागि युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै उनले भने, ‘चोरीसिकार नियन्त्रण संरक्षण युवाको काँधमा छ ।’ अधिकृत गौतमका अनुसार जेडएसएलले युवाहरुको नेतृत्व विकास, युवाहरुलाई संगठित गरी बनजंगल, वातावरण, वन्यजन्तु संरक्षणका साथै निकुञ्ज आसपासका क्षेत्रमा प्लाष्टिकजन्य फोहर नियन्त्रण र वृक्षारोपण लगायतका कार्यक्रमहरु चलाइरहेको छ ।
‘पछिल्लो समयमा चोरीसिकार नियन्त्रण, जैविक अनुगमन, विभिन्न अध्ययन अनुसन्धान, वन्यजन्तुको वासस्थान निर्माण तथा व्यवस्थापन, निकुञ्ज क्षेत्रमा पूर्वाधारहरु निर्माणमा सहयोग, बाघ गणनाका लागि ट्रापिङ्ग क्यामेरा तथा प्राविधिक सहयोग, सामुदायिक विकास आयआर्जन पर्यापर्यटन, लोपोन्मूख समुदायलाई सहयोग, तालिम तथा सीप विकास, घासेमैदान निर्माण लगायतका कामहरु गरिरहेका छौं,’ अधिकृत गौतमले भने । उनले मानव वन्यजन्तु सहअस्थित्वका लागि तारबार, काँडेतारहरु सहयोग तथा विभिन्न प्रकारका जनचेतनामूलक कामहरु गरिरहेको जानकारी दिए ।
शुक्लाफाँटा निकुञ्जको सुरक्षा पोष्ट नजिकै चर्दै गरेको चित्तल ।
‘वन तथा वातावरण विनास हुँदै गएको छ । यसको संरक्षणमा युवाहरुलाई परिचालन गरी संरक्षण संस्कार वृद्धि गर्नसके जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण कदम हुनेछ,’ अधिकृत गौतमले भने, ‘वन्यजन्तु संरक्षण मानव जीवनसँग जोडिएको छ । हामीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा जैविक विविधतामाथि संकट उत्पन्न गरिरहेका छौँ । त्यसको समाधानका लागि अब युवाहरुलाई अघि बढाउनुपर्छ । त्यसका लागि हामीले अन्य निकुञ्जमा भएका कामहरुका विषयमा सबै निकुञ्जका चोरीसिकार नियन्त्रण समितिहरुका बीचमा ‘कनेक्सन’ गरिरहेका छौं । यो प्रभावकारी पनि भएको छ ।’
विभिन्न निकुञ्जमा रहेका चोरीसिकार नियन्त्रण समितिहरुबीच छलफल र अन्तरक्रिया गर्दै आएको जेडएसएलले यसपटक बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबीच अन्तरक्रिया, छलफल र अनुगमनका लागि आयोजना गरेको तीन दिने भ्रमणको नेतृत्व गरिरहेका बाँके राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले वातावरण संरक्षण नभए मानिसको जिवनयापनमा समेत संकट उत्पन्न हुने बताए ।
उनले युवा सङ्गठित भए अपराध नियन्त्रण हुने र खराब काम गर्नेहरु निरुत्साहित हुने भएकाले चोरी सिकार नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका रहने बताए । तस्करहरुलाई पराजित गर्दै संरक्षण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेर गतिलो जवाफ युवाहरुले नै दिन्छन्,’ बाँके निकुञ्जका प्रमूख संरक्षण अधिकृत पुनले भने, ‘निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाको समेत उत्तिकै सक्रियता बढेपछि चोरीसिकार झण्डै शून्य भएको छ ।’ आहार प्रजातिको विस्तारसँगै चोरीसिकार नियन्त्रणमा विशेष जोड दिन थालिएपछि बाघको संख्या बढ्न सहयोग पुगेको उनले बताए ।
शुक्लाफाँटा निकुञ्जमा देखिएको हात्ती ।
उनका अनुसार बाँके निकुञ्जमा हाल १३ वटा बाघ रहेका छन् भने आहारा प्रजातिका जनावरहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको छ । उनका अनुसार चोरीसिकार नियन्त्रणमा युवाहरुबीचको छलफल र अन्तरक्रियालाई थप क्रियाशिल बनाउँदै अनुभवहरु आदानप्रदान जरुरी रहेको छ । जसका कारण एकअर्काबीच भएका कामहरुका बारेमा जानकारी लिई अघि बढ्न सहज हुनेछ । विभिन्न मध्यवर्ती समूह अन्तरगतका चोरी सिकार नियन्त्रण समितिले समुदायमा गरेका जनचेतनामूलक अभियानसँगै गस्ती लगायतका गतिविधिले मध्यवर्ती क्षेत्रमा हुने चोरी सिकार घट्दै गएको बाँके निकुञ्जका प्रमूख संरक्षण अधिकृत पुनले बताए ।
‘हामीले जनचेतनासँगै नियमित गस्ती समेत गरिरहेका छौं,’ बर्दिया राष्टिय निकुञ्ज चोरीसिकार नियन्त्रण उपसमितिका अध्यक्ष आनुराम चौधरी भन्छन्, ‘हामीले गस्तीसँगै जनचेतनामा पनि जोड दिइरहेका छौं । वन्यजन्तु संरक्षणका विषयमा सचेत बनाउन सके स्थानीय आफैं संरक्षणमा जुट्छन् ।’ समुदायमा घुम्ती कक्षालगायतका चेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिइएको उनले बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत बिनोद श्रेष्ठले भने, ‘यो निकुञ्ज प्रशासनसँगै मध्यवर्ती क्षेत्रमा संरक्षणका लागि चोरीसिकार नियन्त्रण समितिका युवाहरूको प्रयासको सफलता हो ।’ उनले विगतका वर्षहरूमा भन्दा अहिले ठूला चोरीसिकारका घटनामा कमी आएको बताए । स्थानीय बासिन्दा र युवाहरुको सहभागिताबाट मात्रै वन क्षेत्रको विनाश तथा वन्यजन्तुको चोरीसिकार नियन्त्रणलाई प्रभावकारी बनाउन सकिने उनले बताए ।
शुक्लाफाँटा निकुञ्जमा रहेको घाँसे मैदान ।
चोरीसिकार नियन्त्रण समितिहरुबीच छलफल र अन्तरक्रिया गर्न जेडएसएलले आयोजना गरेको तीन दिने भ्रमणमा सहभागी बाँकेका ४० जना युवाहरुले बर्दिया र शुल्लाफाँटा निकुञ्जमा चोरीसिकार नियन्त्रणका लागि भएका प्रयास र त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए । बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले संरक्षणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । ‘हामी धर्मसँग जोडेर विभिन्न जंगली जनावरहरुको पुजा गछौं, तर हाम्रै समाजमा चोरी तस्करी गर्ने गिरोह सक्रिय छ, यसका लागि युवाहरु जागरुक हुनैपर्छ,’ उनले भने, ‘हामीभन्दा अगाडीको पुस्ताले अब केही गर्न सक्ने अवस्था छैन । त्यसैले अहिलेको युवा पुस्ता नै संरक्षणका लागि अघि बढ्नुपर्छ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले जैविक विविधता संरक्षणका साथै चोरीसिकार नियन्त्रणका लागि उमेरले नेटो काट्न थालेका पुस्ताको भर नपरेर युवाहरु एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता बोध गर्दै युवाहरु सक्रियरुपमा लाग्नुपर्ने बताए । उनले भने, ‘चोरीसिकार नियन्त्रणका साथै जैविक विविधता संरक्षणमा युवा नजुटे हुँदैन । अब उमेरले वृद्ध हुँदै गएको पुस्ताले केही गर्न सक्दैनन् । त्यसलै पनि युवाहरुको सक्रियता बढ्दो छ ।’
जेडएसएल फिल्ड अफिस शुक्लाफाँटाका अधिकृत प्रदीपराज जोशीले चोरी सिकार नियन्त्रणका लागि खुला सिमानाका कारण केही चुनौति रहे पनि युवाहरुकै कारण नियन्त्रणमा सहज भएको बताए । संरक्षणमा युवाहरूको आकर्षण बढेकोमा दंग हुँदै जोशी भन्छन्, ‘पहिलेभन्दा कन्जर्भेसनमा युवा सहभागिता बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो ।’ वनप्रतिको निर्भरता कम हुँदै गएको र वन्यजन्तुप्रतिको माया जाग्दै गएकाले संरक्षणमा सोचे अनुसार प्रगति भएरहेको उनले बताए । अधिकृत जोशी भन्छन्, ‘पछिल्लो समयमा युवा शक्ति वन्यजन्तु संरक्षणमा क्रियाशिल भएको छ । संरक्षण अभियानमा युवाको विकल्प नै छैन ।’
शुक्लाफाँटा निकुञ्ज निर्माण गरिएको बनपथ ।
स्वयंसेवी भएर खटिन्छन् युवा
बाघ संरक्षणका रुपमा स्थापना भएको बाँके निकुञ्जमा निकुञ्ज प्रशासन र नेपाली सेनामात्रै बन्यजन्तुको संरक्षणमा र रेखदेखमा खट्दैनन् । निकुञ्ज वरपरका एक हजार युवा पनि यो काममा सरिक भएका छन् । सरकारी एवं गैरसरकारी क्षेत्रबाट कुनै तलब नपाउने यी युवाहरु स्वयंसेवकको रूपमा जनावर जोगाउन सक्रिय छन् । मध्यवर्ती क्षेत्रमा गठित चोरीसिकारी नियन्त्रण युवा जागरण अभियानमा आवद्ध भएका उनीहरु तस्करको धम्की र जनावरबाट हुने आक्रमणको वास्ता नगरी काममा खटिरहेका हुन्छन् ।
उनीहरुलाई थप सक्रिय बनाउन गैरसरकारी संस्था जेडएसएलले विभिन्न सीपमूलक र चेतनामूलक कार्यहरु गरिरहेको छ । सोही अनुसार बाँकेका ४० जना युवाहरुलाई जेडएसएलले बर्दिया र शुक्लाफाँटा निकुञ्जको भ्रमण गराएको छ । संरक्षण अभियानमा अहिले बाँकेका एक हजार युवाहरु लागिपरेका छन् । ‘अहिले एक हजार युवा यो काममा खटिएका छन्,’ चोरीसिकार नियन्त्रण युवा सञ्जालका अध्यक्ष कृष्ण चौधरीले भने, ‘अहिले बाँकेमा निकै जुर्मुराएको छ । युवाहरुको सक्रियता ज्यादै बढेको छ । हामीले अझै सक्रियता बढाउन जेडएसएलसँगको सहकार्यमा यो भ्रमण गरेका हौं ।’
संरक्षणमा खटिएकी सरिता रोकाय भन्छिन्, ‘हामीले सरकारी तथा गैरसरकारी संस्थाबाट कुनै तलब र सुविधा लिएका छैनौं । तर संरक्षणका लागि गरिने कार्यक्रमहरुमा मात्रै सरकार तथा गैरसरकारी संस्थासँग समन्वय गर्ने हो । त्यो बाहेक हामीले कुनै आर्थिक लाभ लिएका छैनौं ।’ राष्ट्रिय निकुञ्ज, नेपाली सेना, जेडएसएल लगायतका अन्य संघसंस्थाले तालिम, भ्रमण लगायतका क्षेत्रमा सहयोग गरेपनि संरक्षणमा खटिएका युवाहरुलाई तलब भत्ता भने दिइदैन । अभावका बाबजुद पनि युवाहरु चोरीसिकार नियन्त्रणमा प्रभावकारी रुपमा लागेको रोकायले बताइन् ।
कृष्णसार संरक्षण क्षेत्र खैरापुर बर्दियामा चर्दै गरेका कृष्णसार ।
युवा सञ्जालमा आवद्ध युवाहरुले गर्ने काम उदाहरणीय भएको संरक्षणकर्मी प्रभा मल्ल बताउँछिन् । उनले भनिन्, ‘चोरीसिकाररहित जिल्ला बनाउने उद्देश्यले गठित अभियानले प्रभावकारी काम गरिरहेको छ । संरक्षणमा संकट आउँदा हामीजस्ता धेरै स्थानीय युवाहरुले ठूलो सहयोग गरिरहेका छौं । रेका छन् । जंगली जनावरका कारण स्थानीयहरु संरक्षणप्रति नकारात्मक धारणा राख्दा समेत युवाहरुले संरक्षणको पाटोलाई समाएर सम्झाउने बुझाउने कामसमेत गरेका छन् ।
जंगली जनावरको संरक्षण पर्यटक आकर्षित गर्ने आर्थिक पाटोसँग मात्रै नजोडिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले बताए । संरक्षणका कारण मानवीय जीवनमा परेको सकारात्मक पाटोलाई युवाहरुले समाजमा फैलाउन सक्नुपर्ने उनले बताए । ‘बाँके राष्ट्रिय निकुञ्ज घोषणापूर्व उजाड र मरुभूमिजस्तै थियो, निकुञ्जका कारण यहाँको जंगल जोगिएको छ,’ प्रमुख संरक्षण अधिकृत पुनले ‘निकुञ्ज नभएका बनहरुको दुर्दशा दयनिय बनेको छ । यहाँ निकुञ्ज घोषणापछि बाघ, हात्ती लगायत अन्य जनावरहरुका कारण मान्छेलाई पनि जोगाएको छ ।
कुनै बेला चोरीसिकारले ग्रस्त बाँकेको ढकेरी, समशेरगन्ज, अगैया लगायतका क्षेत्रमा निकुञ्ज घोषणासँगै न्यूनिकरण हुँदै गएको छ । अझ चोरीसिकार नियन्त्रण समितिको सक्रियताले यसलाई शुन्य विन्दूतर्फ उन्मुख गराएको छ । युवाहरुको सक्रियतापछि चोरीसिकारी करिब करिब पूर्णरुपमा नियन्त्रण जस्तै भएको चोरीसिकार नियन्त्रण सञ्जालका अध्यक्ष चौधरीको भनाई छ । ‘तीन वर्षयता चोरीसिकारका कारण बाघ, हात्ती लगायतका अन्य जंगली जनावरहरु मारिएका छैनन्,’ अध्यक्ष चौधरीले भने । उनले आफूहरुले गरेको योगदानलाई निकुञ्ज प्रशासन र अन्य निकायले उचित मूल्यांकन गरी प्रात्साहन दिनुपर्ने बताए ।
।